काठमाडौं । सांसदहरूले शिक्षकका माग सम्बोधनका विषयमा गम्भीर हुन सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा समेत चासो व्यक्त गरेका सांसदहरूले सरकारको कामको प्रभावकारितासम्मका विषयमा प्रश्न उठाएका छन् ।
सांसदहरूले अहिले देखिएका शिक्षक, कर्मचारी लगायतका मागका विषयमा सरकार गम्भीर नदेखिएको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेका हुन् । सत्तारुढ दलकै सांसदहरूले अहिलेको अवस्थामा शिक्षकहरूसँग सम्बन्धित विषयलाई बढाउन नहुने धारणा राखेका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले पनि शिक्षकदेखि सहकारीपीडितसम्मका मागका सन्दर्भमा सरकार गम्भीर नभएको धारणा राख्नुभयो ।
सांसदहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भष्ट्राचार भएको संसदीय प्रतिवेदन बनेको अवस्थामा दोषीलाई कारबाही गर्न सरकारसँग माग पनि गरेका छन् । उता नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई रक्सी चोरेको आरोपमा सहमहामन्त्रीका छोरा पक्राउ परेको विषय प्रमाणित गर्न चुनौती दिनुभएको छ । यदि त्यो प्रमाणित गर्न नसकेको लिङदेनले भनाइ फिर्ता लिनुपर्ने जिकिर समेत घिमिरेले गर्नुभयो ।