काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरूले लाजशरम पचाएर आफूलाई बिचौलियाको पहुँचसँग जोडेको आरोप लगाउनुभएको छ । मदन भण्डारी फाउन्डेशनको चौथो राष्ट्रिय सम्मेलनको आज काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो बेडरूमसम्म बिचौलियाको पहुँच छ भन्नेहरूले प्रमाणित गर्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई साताअघि एक कार्यक्रममा सरकारले काम गर्न नसकेको र बिचौलियाको पहुँच प्रधानमन्त्रीको शयनकक्षसम्मै रहेको दाबी गर्नुभएको थियो । त्यसप्रति आक्रोश व्यक्त गर्दै आज प्रधानमन्त्री ओलीले स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्वविरुद्ध झुटा आरोप लगाउन थालिएको बताउनुभयो ।
एमालेले आफूलाई आगामी निर्वाचनमार्फत निर्णायक राष्ट्रिय शक्तिमा विकसित हुने लक्ष्य लिएको भन्दै प्रधानमन्त्री ओलीले आजकाल निलो रंगका स्यालहरू निकै हाउभाउ गरिरहेको पनि आरोप लगाउनुभयो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरूको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुस भएको टिप्पणी प्रधामन्त्री ओलीको छ ।
पार्टीभित्रैबाट आफूविरुद्ध भइरहेको आलोचनाप्रति पनि प्रधानमन्त्रीले असन्तुष्टि जनाउँदै विरोधीसँग लड्न नसक्ने अनि पार्टीभित्र आलोचनात्मक चेत बोक्ने बाटो सही नभएको जिकिर गर्नुभयो । पार्टीभित्र एकताको चेत चाहिने उहाँको भनाइ छ ।