काठमाडौं । नेपाली क्रिकेट टिमका मु्ख्य प्रशिक्षक स्टुअर्ट लले नेपाली टिमको जिम्मेवारी चुनौतीपूर्ण रहेको बताएका छन् । विश्वकप खेल्नुका धेरै फाइदा रहेको बताउँदै उनले पहिलो लक्ष्य टी-ट्वेन्टी विश्वकप छनोट रहेको बताएका छन् ।
स्टुअर्टले टी-ट्वेन्टी र एक दिवसीयका लागि फरक टिम निर्माण गर्ने जानकारी दिए । उनले नेटमा अभ्यास गरेर खास ट्यालेन्ट नआउने भन्दै म्याच सिनारियोमा अभ्यास गर्ने बताएका छन् । शतक, अर्धशतक, राम्रो इकोनोमी र विकेट लिनमा उत्कृष्ट खेलाडीलाई प्राथमिकतामा राख्ने र नेपाली क्रिकेट संरचनामा सहयोग गर्ने स्टुअर्टको भनाइ छ ।
नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले, स्टुअर्टले नेपाली टिमको जिम्मेवारीका साथै नेपालीको घरेलु संरचनाको विकासमा पनि सहयोग गर्ने बताएका छन् । दुई वर्षका लागि नियुक्त भएका प्रशिक्षकले नेपालको सबै पक्षमा सहयोग गर्ने जानकारी उनले दिएका छन् । खड्काले स्टुअर्टका लागि सहयोगी प्रशिक्षकको व्यवस्था पछि गर्ने बताएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिमको कोर क्याम्प आजदेखि सुरु भएको छ । क्यानले ५२ खेलाडीलाई चार समूहमा विभाजन गरेर डबल राउन्ड रोबिनमा अभ्यास खेल सञ्चालन गरिरहेको छ । सबै टिमले समान ६-६ खेल खेल्नेछन् । त्यसपछि स्टुअर्ट ल र सेलेक्टरले नेपाली टिमको छनोट गर्नेछन् । नेपालले अब जुनमा स्कटल्यान्डको भ्रमण गर्नेछ ।