जेसिका पेगुला म्याड्रिड ओपनको तेस्रो चरणमा स्थान बनाउन सफल

वैशाख १३, २०८२ |खेल ब्युरो
जेसिका पेगुला म्याड्रिड ओपनको तेस्रो चरणमा स्थान बनाउन सफल

काठमाडौं । विश्व टेनिस वरीयतामा तेस्रो वरीयता प्राप्त अमेरिकी खेलाडी जेसिका पेगुलाले शुक्रबार जर्मनीकी ईभा लिसलाई हराउँदै म्याड्रिड ओपनको तेस्रो चरणमा स्थान बनाएकी छन्।

गएराति भएको खेलमा उनले दुवै सेटमा समान ६-२, ६-२ को जित हासिल गरेकी हुन्। पहिलो सेटमा पेगुलाले ६ वटा ब्रेक पोइन्ट सामना गर्नुपरे पनि उनले तीमध्ये पाँच ब्रेक पोइन्ट बचाउन सफल भइन्। 

उनले आफ्नो उत्कृष्ट रिटर्न खेलमार्फत् लिसमाथि दबाब कायम गरेकी थिइन्। त्यसैगरी, पेगुलाले लिसको दोस्रो सर्भमा ७७ प्रतिशत अंक जित्दै पहिलो सेट आफ्नो पक्षमा पारेकी थिइन्। 

दोस्रो सेट पनि यस्तै शैलीमा चल्यो, जहाँ पेगुलाले खेल एक घण्टा १२ मिनेटमै समाप्त गरिन् र जित हात पारिन्। अब उनले तेस्रो चरणमा जापानकी मोयुका उचि-जिमासँग प्रतिस्पर्धा गर्नेछिन्। 

यी दुई खेलाडीबीच यो पहिलो भिडन्त हुनेछ। त्यसैगरी गएराति नै भएको क्वालिफायरको फाइनल खेलमा एलिना रूविकिनाले जित हासिल गरेकी छन्। उनले क्यानडाकी वियाना एन्ड्रेस्कुलाई सोझो सेटमा नै हराएकी हुन्।