फ्रेन्च लिग वान : नाइससँग पिएसजीको अप्रत्याशित हार

वैशाख १३, २०८२ |खेल ब्युरो
 फ्रेन्च लिग वान : नाइससँग पिएसजीको अप्रत्याशित हार

काठमाडौं । पेरिस सेन्ट-जर्मेन-पिएसजीको फ्रेन्च लिग वानमा पहिलो पटक अपराजित सिजन पूरा गर्ने सपनामा पूर्णविराम लागेको छ। आज बिहान सम्पन्न खेलमा नाइससँग ३-१ को अप्रत्याशित हार भोगेपछि लिग समाप्त हुन चार खेल बाँकी छँदै पिएसजीको अपराजित र ऐतिहासिक यात्रा रोकिएको हो।

सिजनको उपाधि यसै महिनाको सुरूवातमा नै जितिसकेको पिएसजी लगातार ३० खेलसम्म अपराजित थियो। तर, च्याम्पियन्स लिगको स्थानको लागि संघर्ष गरिरहेको नाइसले पिएसजीका सबै योजना ध्वस्त पारिदिएको हो। 

खेलको ३४औँ मिनेटमा मोरगन सान्सोनले यस सिजन पहिलोपटक सुरूवात गर्दै नाइसलाई अग्रता दिलाए। सात मिनेटपछि फाबियन रुइजले आकर्षक हाफभलीमार्फत् बराबरी गोल फर्काएका थिए। 

तर दोस्रो हाफ सुरू भएको एक मिनेटमै पूर्व एस्टन भिल्ला मिडफिल्डर सान्सोनले पुनः गोल गर्दै नाइसलाई २-१ ले अग्रता दिलाएका थिए। ७०औँ मिनेटमा युसुफ एनदायिशि-मियेले फ्रिकिकबाट हेड गर्दै तेस्रो गोल थपेपछि पिएसजी स्तब्ध भएको हो। 

नाइसले खेलभरि जम्मा तीनवटा सट पोस्टमा हानेका थिए र ती सबै गोलमा परिणत भए। यता पिएसजीले ७६ प्रतिसत समय बलमा नियन्त्रण बनाएर विपक्षीको पोस्टतर्फ ३२ सट हाने पनि केवल एक गोल मात्र गर्न सफल भयो। 

 यो नतिजा प्रशिक्षक कोच लुइस एनरिकका लागि निराशाजनक रह्यो। अब पिएसजीले आउँदो मङ्गलबार च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा आर्सनलसँग प्रतिस्पर्धा गर्नु पर्नेमा आज पराजित हुनु उसको लागि खुसीको खबर होइन। 

खेलपछि एनरिकले आफ्नो टिमले विभिन्न तरिकाबाट आक्रमण गरे पनि नाइसका रक्षापंतिले अविश्वसनीय बचाउ गरेका र आर्सनलविरुद्ध पनि यस्तै खेल खेल्न चाहेको बताए।