काठमाडौं । साउदी प्रो लिग क्लब अल-हिलालले एएफसी च्याम्पियन्स लिग एलिटको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। शुक्रबार राति जेद्दाहको किङ अब्दुल्लाह स्पोर्ट्स सिटी रंगशालामा दक्षिण कोरियाली क्लब ग्वाङ्जुलाई ७-० ले हराउँदै हिलालले अन्तिम चारमा स्थान पक्का गरेको हो।
खेलमा सर्जे मिलिन्कोभिच साभिच, मार्कोस लियोनार्डो र सालेम अल-दसारीले खेलको सुरूवाती ३३ मिनेटमै गोल गर्दै अल-हिलाललाई उत्कृष्ट सुरूवात दिलाएका थिए।
मिलिन्कोभिच-साभिचले खेलको छैटौं मिनेटमै सालेम अल-दसारीको कर्नरमा हेड गर्दै गोल खोलेका थिए। ग्वाङ्जुका लागि जसिर असानीले तत्काल बराबरीको मौका पाएपनि गोलरक्षक यासिन बुनुले उत्कृष्ट बचाउ गरे।
दोस्रो हाफमा अलेक्जान्डर मिट्रोभिच, माल्कोम, नास्सेर अल-दसारी र अब्दुल्लाह अल-हम्दानले गोल गर्दै जितलाई फराकिलो बनाएका थिए। अल हिलाल च्याम्पियन्स लिगमा चारपटकको च्याम्पियन समेत हो।
उसले यसअघि सन् १९९१, २०००, २०१९ र २०२१ मा महादेशीय उपाधि जितिसकेको छ भने पाँचपटक उपविजेता भएको छ। अल-हिलालले अब आज हुने अर्को क्वार्टरफाइनल भिडन्त-अल अहली र थाइल्यान्डको बुरीराम युनाइटेडबीचको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।
गएराति प्रतियोगितामा डेब्यु ग्वाङ्जुलाई उसले पुरै दबाबमा राख्दै उत्कृष्ट प्रदर्शन गर्यो। एएफसी च्याम्पियन्स लिग एलिटको अन्तिम चरण हाल साउदी अरेबियाको जेद्दामा केन्द्रित रूपमा आयोजना भइरहेको छ।
शनिबार क्रिस्टियानो रोनाल्डोको अल-नासरले जापानको योकोहामा मारीनोससँग प्रतिस्पर्धा गर्नेछ भने आइतबार जापानको कावासाकी फ्रन्टालेले कतारको अलसद्दसँग खेल्नेछ। सेमिफाइनलहरू मङ्गलबार र बुधबार हुनेछन् भने फाइनल मे ३ मा खेलिनेछ।