काठमाडौं । नेपाली सिने जगतका लागि २०८१ सुखद् एवं फलदायी रह्यो । केही रेकर्ड ब्रेकर चलचित्र, सम्भावना बोकेका केही निर्देशक तथा कलाकारको आगमनले उद्योगलाई नै उत्साहित बनायो ।
यसले २०८२ मा चलचित्र प्रदर्शनको सङ्ख्या बढ्ने देखिको छ । वर्षको सुरुआतमै प्रदर्शनमा आएका चलचित्रले सुखद् व्यापार गर्दा राजेश हमालदेखि नयाँ कलाकारका चलचित्र फ्लोरमा छन् ।
थातथलो छोडेर विदेशी भूमिमा बस्नु पर्दा आफ्नो जन्मघर हराएको आप्रवासीको पीडालाई प्रस्तुत गरिएको चलचित्र भूठान वैशाख१२ गते प्रदर्शनमा आयो । चलचित्रको कथा र पात्रको अभिनयको अहिले सर्वत्र चर्चा भइरहेको छ । विनोद पौडेल निर्देशित चलचित्रमा हरिवंश आचार्य, दयाहाङ राई, पूजा चन्द, बलिउड अभिनेता ब्रूस डर्न लगायत कलाकारले अभिनय गरेका छन् ।
यसै दिन प्रदर्शनमा आएको अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेको थ्रिलर र सस्पेन्सको मिश्रणमा कथामा आधारित चलचित्र खेल पनि चलिरहेको छ । नवीन चौहानद्वारा निर्देशित चलचित्र ऊनको स्विटर यही वैशाख २६ गतेदेखि प्रदर्शनमा आउँदैछ । विपिन कार्की, मिरुना मगर, विल्सन विक्रम राई, लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रको ‘काफ्ले’ गीत अहिले चर्चामा छ ।
वैशाख १९ गते मोबाइल, कम्प्युटर जस्ता उपकरण प्रविधिको अत्यधिक प्रयोगले बालबालिकामा परेको शारीरिक, मानसिक तथा भावनात्मक असर तथा बालबालिका र अभिभावकबीच प्रविधिको प्रयोगबारे बुझाइले आपसी झगडा वा दूरी बढ्ने समस्यालाई मुख्य विषयवस्तु बनाएको झिल्को प्रदर्शनमा आउँदै छ । साहित्यकार ईन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म जार यही वैशाख २६ गतेदेखि प्रदर्शनमा आउँदैछ । गाउँबाट काठमाडौंमा आएर संघर्ष गर्ने आम नेपालीको संघर्षलाई चित्रण गरिएको दीपेन्द्र के खनाल निर्देशित के घर के डेरा घर नं २ र दीलिप रायमाझीको मुख्य भूमिका रहेको हास्यव्यंग्य चलचित्र हेल्लो काशीराम यही जेठ २ गतेदेखि प्रदर्शनमा आउनेछन् ।
करिब ८ वर्षपछि राजेश हमालको कमब्याक रहेको चलचित्र नरसिंहा : अवतार जेठ ९ गतेदेखि प्रदर्शन हुनेछ । हमाललाई पुनः पर्दामा हेर्न दर्शकहरू आतुर छन् ।
जेठ १५ गणतन्त्र दिवसको अवसर पारेर दिनेश राउत निर्देशित महाभोज प्रदर्शनमा आउँदैछ । आर्यन सिग्देल, खगेन्द्र लामिछाने, दयाहाङ राई, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महत जस्ता कलाकारको अभिनय पनि पर्खाइको विषय बनेको छ । जेठ २३ गतेदेखि सौगात मल्ल अभिनित जन्ते बाख्रो र ३० गते भाइरल गोर्खे प्रदर्शनमा आउँदैछन् ।
असारमा विजय बराल, विल्सनविक्रम राई, बुद्धि तामाङको अभिनय रहेको यो मन त मेरो नेपाली हो असार २७ तथा साउन २३ मा अभिनेता पल शाह र अभिनेत्री नीति शाह अभिनय रहेको मोहर प्रदर्शनमा आउँदैछ । राजबहादुर सानेको निर्देशनमा निर्माण भएको माओवादी सशस्त्र युद्धको कथा उठान गरेको सिटामोल पनि साउन २३ गते नै प्रदर्शनमा आउनेछ ।
कतिपय सिनेकर्मीले भने तीज रोजेका छन् । आगामी हरितालिका तीजको अवसर पारेर केदार घिमिरे (माग्ने बुढा)को शीर्ष अभिनय रहेको माग्ने राजा र विजय बराललाई मुख्य भूमिका बन्दै गरेको जनै हराएको बाहुन प्रदर्शनमा आउनेछन् । पूर्ण बहादुरको सारङ्गीका निर्देशक सरोज पौडेलको कोशेढुङ्गा आगामी भदौ १२ र भदौ २७ गते पूर्ण बहादुरको सारङ्गीकै निर्माता विनोद पौडेलको अभिमन्यु तथा असोज ३ गते संविधान दिवसको दिन जातीय भेदभावका विरुद्ध आवाज उठाइएको चलचित्र सोल्टिनी प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।
अधिकांश निर्माता निर्देशकले चलचित्र प्रदर्शनका लागी दशैं तिहार नै रोज्छन् । यस पटक पनि थुप्रै निर्माता निर्देशको रोजाइमा दशैं तिहार नै परेको छ ।
निर्माता रोहित अधिकारीले निर्माण गरिरहेको माइती घर र निर्देशक सन्तोष सेनले १२ गाउँबाट डेब्यु गरेका समीर भट्टलाई लिएर निर्माण गरिरहेको बलिदान, दीपेन्द्र के खनालद्वारा निर्देशित तथा हरिवंश आचार्यको मुख्य भूमिका रहेको हरिबहादुरको जुत्ता, वसन्त निरौलाको निर्देशनमा निर्माण भइरहेको दशमी, फर्स्टलुक पोस्टरले नै तरङ्ग पैदा गरिदिएको महाराजधिराजको पनि आगामी दशैंको फूलपातीको दिन प्रदर्शन हुने घोषणा गरिएको छ ।
तिहारको छेको पार्दै असोज ३१ गते अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म जेरी अन टप, कात्तिक ३ अर्थात् लक्ष्मीपूजाको दिन वरिष्ठ बलराम, कात्तिक ७ निर्देशक तुलसी घिमिरेको पहाड र कात्तिक २१ गते कल्लीको प्रदर्शन मिति तोकिएको छ । परालको आगो, डल्लेले इन्ट्री मार्यो, हर्ष, एक्लो, चमेलीको पोइ, बिगुल जस्ता चलचित्र फ्लोरमा भए पनि प्रदर्शन मिति तय गरिएको छैन ।
नयाँ फिल्म निर्माणको घोषणा पनि जारी छ । मितज्यू, मिरमिरे, ढुकढुकी, जारी २, झिँगेदाउ-२ लगायत पनि यसै वर्षभित्र प्रदर्शन हुने बताइएको छ ।