अमेरिका । दोस्रो कार्यकाल सुरु गरेसँगै अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले कागजपत्रविहीन र आपराधिक चरित्र भएका आप्रवासीहरू पहिलो निशानामा पर्ने बताउनुभएको थियो । विशेषगरी ल्याटिन अमेरिकी मुलुकबाट अवैधरूपमा अमेरिका छिरेका तथा आपराधिक पृष्ठभूमि भएकाहरूमाथि पक्राउ र देश निकालाको प्रक्रिया व्यापकरूपमा चलिरहेको छ ।
अन्य मुलुकका आप्रवासी पनि पक्राउ तथा निष्कासनमा परिरहेका छन् । अमेरिकामा तीन लाखभन्दा धेरै नेपाली छन् । ट्रम्प प्रशासनको पछिल्लो आप्रवासन नीतिले अमेरिकामा रहेका नेपालीलाई कसरी प्रभावित पारिरहेको छ त ?
डनल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेसँगै कडाइ भएको आप्रवासन नीतिले यति बेला अमेरिकामा रहेका नेपाली समुदायप्रति चासो र चिन्ता बढिरहेको छ । कागजपत्र नभएका र आपराधिक पृष्ठभूमिका मात्रै टारगेट भइरहेकाले वैधानिक तवरमा अमेरिकामा रहेका नेपालीहरू भने आत्तिनुनपर्ने कानुन व्यवसायी बताउँछन् ।
अमेरिकाबाट निष्कासनमा पर्नसक्ने नेपाली टीपीएस अर्थात टेम्पोररी प्रोटेक्टेड स्टाटसमा रहेकाहरू हुन् । यो सङ्ख्या सात हजार ८७५ रहेको अमेरिकी इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट अर्थात् होमल्यान्ड सेक्युरिटीले जनाएको छ । नेपालमा २०१५ मा गएको भूकम्पलाई कारण देखाएर अमेरिकी सरकारले १९ हजार नेपालीलाई अमेरिकामै रही काम गर्न मिल्ने अनुमति अर्थात टीपीएस हैसियत दिएको थियो । टीपीएसको म्याद हरेक वर्ष थपिँदै आएकोमा ट्रम्प प्रशासनले नथप्ने सङ्केत गरेको छ । यस कारण आगामी जुनपछि टीपीएसको हैसियतमा रहेका सात हजार बढी नेपाली डिपोर्टेसन पर्न सक्छन् ।
अमेरिकामा विद्यार्थी पठाउने मुलुकमा नेपाल १० औं स्थानमा पर्छ । पछिल्ला हरेक वर्ष अमेरिकामा नेपाली विद्यार्थी बढिरहेका छन् । अघिल्लो वर्षको नोभेम्बरसम्म अमेरिकामा झन्डै १७ हजार नेपाली विद्यार्थी अध्ययनरत छन् । जुन अघिल्लो शैक्षिक सत्रभन्दा १० प्रतिशतले बढी हो । आप्रवासन नीति कडा भइरहेको बेला अन्तर्राष्ट्रिय विद्यार्थीहरूमाथि पनि छानबिन भइरहेको छ । यस कारण उनीहरूले कानुनी हैसियत गुम्न नदिन सचेत हुनुपर्नेछ ।
अमेरिकामा ग्रिनकार्ड लिने नेपालीको सङ्ख्या पनि निकै बढेको छ । होमल्यान्ड सेक्युरिटीले जनाए अनसार २ लाखभन्दा धेरै नेपालीले ग्रिनकार्ड लिइसकेका छन् । जसमध्ये ९० हजार जतिले अमेरिकी नागरिकता नै पाइसकेका छन् । पछिल्लो नीतिले ग्रिनकार्ड होल्डरहरू पनि अपराध गरेमा वा अन्य अमेरिकी कानुन उल्लङ्घन गरेमा समस्यामा पर्न सक्ने देखिएको छ ।
डोनल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि अप्रिलको दोस्रो हप्तासम्म अमेरिकाबाट निष्कासनमा पर्ने नेपालीको संख्या ६३ पुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ । जसमा सात महिला र ५६ पुरुष छन् । डिपोर्टेसन भएकाहरूमा ८ जनालाई चार्टर्ड विमानमा नेपाल छोडिएको थियो भने बाँकी नियमित उडानमा नेपाल पुगेका थिए ।