काठमाडौं । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) निर्णायक मोडमा पुगेको छ । भोलि दशरथ रंगशालामा साबिक विजेता ललितपुर सिटी एफसी र पहिलो उपाधिको खोजीमा रहेको पोखरा थन्डर्स अन्तिम भिडन्तका लागि तयार छन् ।
लिग चरणमा दुई टोलीबीचको विवादले झन् फाइनल खेललाई बहुप्रतीक्षित बनाएको छ । सिजनको पहिलो भेट धक्का-मुक्कीसम्म पुग्दा ललितपुर र पोखरा कट्टर प्रतिद्वन्द्वी बनिसकेका छन् ।
साविक विजेता ललितपुरको व्यवस्थित संरचना र अपराजित यात्रा एकातर्फ छ भने अर्कोतर्फ पोखराको पुनरागमनको कथा र पहिलो उपाधिप्रतिको जोश । तेस्रो संस्करणको नेपाल सुपर लिगको बहुप्रतीक्षित फाइनल ब्लकबस्टर हुनेमा कुनै शंका छैन ।
यो सिजनको एक मात्र अपराजित टोली, स्थिरता, सामुहिकता र रणनीतिक अनुशासनको उत्कृष्ट उदाहरण बनेको डिफेन्डिङ च्याम्पियन ललितपुरले लिग चरणमा तीन जित र तीन बराबरीसहित शीर्ष स्थान हासिल गरेको थियो । ललितपुरले पहिलो क्वालिफायरमा धनगढीलाई पराजित गर्दै आफ्नो दाबी बलियो बनाएको छ ।
पोखरा थन्डर्सको यात्रा भने उतारचढावले भरिपूर्ण छ । सिजनको सुरुआतमा लगातार दुई हारले टिमको मनोबल खस्किएको आकलन गरिएको थियो । तर त्यसपछि टोलीले अप्रत्याशित पुनरागमन गर्दै दुई जित र दुई बराबरीसहित आफ्नो दाबेदारी बलियो बनायो । काठमाडौंलाई गोलअन्तरमा पछि पार्यो र प्लेअफमा स्थान बनायो । इलिमिनेटरमा एफसी चितवनलाई ३-० ले पछि पारेको पोखराले दोस्रो क्वालिफायरमा धनगढीविरुद्ध १-० को जित हात पारेको थियो । स्टेफन बिनोङले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि पोखराले गत सिजनको पहिलो क्वालिफायरमा धनगढीविरुद्ध पेनाल्टीमा बेहोरेको हारको बदला लियो र ललितपुरसँगको भेट पक्का गर्यो ।
ललितपुर, प्रशिक्षक साइमन ग्रेसनको कुशल रणनीतिमा मजबुत रूपमा उभिएको छ । कप्तान अनन्त तामाङको रक्षात्मक नेतृत्व, इमोह इजिकेलको गति र फिनिसिङ जोनाथन कान्टिलानाको निसाना, मणि लामाको सेट-पीस डेलिभरी, मिडफिल्डमा पापा इबु केबेको नियन्त्रणले टिमलाई अपराजित बनाएको हो । तर, सेन्ट्रल डिफेन्डर पाप डाएकिटेले रातो कार्डको कारण फाइनल गुमाउने निश्चित छ । यो टिमको डिफेन्समा चुनौती बन्न सक्छ । मणि लामाले धनगढीविरुद्ध पाएको कार्ड रद्द भएपछि ललितपुरले राहतको श्वास फेरेको छ । इजिकेल र कान्टिलानाले ललितपुरका लागि २-२ गोल गरेका छन् ।
प्रशिक्षक सुमन श्रेष्ठको नेतृत्वमा पोखराले खेल कौशलमा सुधार गर्दै आत्मविश्वासका साथ 'कमब्याक' को उत्कृष्ट उदाहरण दिएको छ । त्यसैले टिमको मोटिभेसन नै उच्च बनाएको छ । आयुष घलानको ऊर्जा, मिडफिल्डर जो आइडूको कार्यक्षमता र स्ट्राइकर स्टेफेन समीर बिनोङको निर्णायक क्षणमा गोल गर्ने क्षमताले टोलीलाई उपाधिको ढोकासम्म पुर्याएको हो । जो आइडो र बिनोङले जारी सिजन ३-३ गोल गरिसकेका छन् ।
दुई टोलीबीचको लिग चरणको खेलमा उत्पन्न विवादले पोखराका अफिसियल सुन्दर थापालाई पूरै सिजन र दीपक श्रेष्ठमाथि २ खेलको प्रतिबन्ध लागेको थियो । ५० हजार जरिवानाको सामना गरेको पोखरा बदला लिन सफल होला ? जे होस् शनिबार दशरथ रंगशालामा नयाँ इतिहास बन्ने पक्का छ ।