काठमाडौं । रियाल भालाडोलिड स्पेनिस ला लिगाको रेलिगेसनमा परेको छ । गएराति भएको खेलमा रियाल बेटिससँग ५-१ गोल अन्तरले पराजित भएपछि भालाडोलिड शीर्ष डिभिजनबाट तल झर्ने निश्चित भएको हो ।
घरेलु टिम बेटिसले खेल सुरू भएको १७औं मिनेटमा जेसस रोद्रिगेजको गोलमार्फत् अग्रता लिएको थियो । ४१औं मिनेटमा भालाडोलिडका चुकीले गोल गर्दै खेल बराबरी गरेका थिए ।
तर दोस्रो हाफमा बेटिसको आक्रमणलाई रोक्न सकेन् । ६४औं मिनेटमा कुचो हर्नान्डेजले हेडर गोल गर्दै बेटिसलाई पुन: खेलमा फर्काए । ६६औं मिनेटमा इस्कोले टिमका लागि तेस्रो गोल थपे ।
८४ औं मिनेटमा रोमेन र ९० औं मिनेटमा आब्देले गोल गरेपछि भायाडोलिड सिजनको पाँच खेल खेल्न बाँकी रहँदै दोस्रो डिभिजनमा झरेको हो । भालाडोलिड गत सिजन मात्र ला लिगामा उक्लिएको थियो ।
तालिकाको अन्तिम स्थानमा रहेको उसको ३३ खेलबाट १६ अंक छ । ब्राजिलियन रोनाल्डोको अधिकतम सेयर रहेको क्लब तेस्रो पटक रेलिगेसनमा परेको हो ।
रोनाल्डोले सन २०१८ मा टिमको स्वामित्व सलएका थिए । पुर्व स्ट्राइकर रोनाल्डोले क्लबको सेयर बेच्न चाहेको बताइएको छ । ला लिगामा अब दुई टिम रेलिगेशनमा पर्नेछन् ।
गएरातिनै भएको अर्को खेलमा एट्लेटिको मड्रडले रायो भायकोना माथि तीन शुन्य गोलको जित हात पारेको छ । एट्लेटिकोका लागि तेस्रो मिनेटमा अलेक्जान्द्र सोलोथ, ४५ औं मिनेटमा कनर गालिगर र ७७ औं मिनेटमा युलियन अल्भारेजले गोल गरेका थिए ।
तेस्रो स्थानमा रहेको एट्लेटिकाको ३३ खेलबाट ६६ अंक छ । दोस्रो स्थानको रियाल मड्रिडको ७२ र शीर्ष स्थानमा रहेको बार्सिलोनाको ७६ अंक छ ।