काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुअर्ट ल आज आउँदैछन् । नेपाल क्रिकेट संघ क्यानका अनुसार अस्ट्रेलियन स्टुअर्ट ल आज राति आठ बजे काठमाडौं आइपुग्नेछन् ।
क्यानले स्टुअर्ट ललाई गत चैत १४ गते नेपाल टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको घोषणा गरेको थियो । उनी मुख्य प्रशिक्षकका रूपमा सार्वजनिक भएपछि नेपालले हङकङ भ्रमण गर्यो ।
नेपाल, हङकङ, कुवेत र कतार सम्मिलत चार देशीय टि ट्वान्टी आई सिरिजमा पुर्व कप्तान ज्ञानेन्द्र मल्लले नेतृत्व सम्हालेका थिए । सिरिजमा नेपाल फाइनलमा कुवेतसँग पराजित भएको थियो । स्टुअर्ट लले भारतीय मोन्टी देसाइलाई प्रतिस्थापन गरेका हुन् ।
उनी र क्यानबीच दुई वर्षका लागि सम्झौता भएको छ । ५६ वर्षीय स्टुअर्ट लले यसअघि बंगलादेश, वेस्ट इन्डिज , श्रीलंका र अफगानिस्तानको मुख्य प्रशिक्षकका रूपमा काम गरेका थिए ।
उनीसँग एसोसिएट राष्ट्र अमेरिकाको प्रशिक्षक सम्हालेको पनि अनुभव छ । उनको आगमनसँगै क्यानले टिम छनोटका लागि कोर क्याम्प गर्दैछ । कोर क्याम्पमा ५२ खेलाडीलाई चार टिममा विभाजन गरेर खेल खेलाइनेछ । भोलिदेखि २० गतेसम्म हुने प्रतियोगितामा चार टिमले मुलपानीको माथिल्लो र तल्लो मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।