मधेश प्रिमियर लिग क्रिकेटको उपाधि मिथिला वारियर्सलाई

वैशाख ११, २०८२ |आरएन विश्वास
मधेश प्रिमियर लिग क्रिकेटको उपाधि मिथिला वारियर्सलाई

सप्तरी । मधेश प्रिमियर लिगकाे उपाधि दिपेन्द्रसिंह ऐरीकाे कप्तानीमा रहेको मिथिला वारियर्सले जितेको छ । 

राजविराजस्थित पवि माविकाे मैदानमा आज भएकाे फाइनल खेलमा सप्तरी बलानबिहुललाई ५ विकेटले हराउँदै मिथिला वारियर्सले ९ लाख १ हजार रुपैयाँ पुरस्कार सहित उपाधि जित्यो ।

टस जितेर पहिलो ब्याटिङ गरेको बलानबिहुलले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो ।  बलानका कप्तान एवं राष्ट्रिय टिमका खेलाडी विवेक यादवले २ चाैका र ४ छक्काकाे मद्दतले सर्वाधिक ४५ रन बनाए । लाेकेश बमले ४१, सुजन थपलियाले २८ र फिर्दाेष अन्सारीले १५ रन बनाएका थिए । बलिङतर्फ मिथिला वारियर्सका वसन्त खत्रीले ३, शेर मल्ल र कुशल भुर्तेलले समान २-२ र नन्दन यादवले १ विकेट लिए ।

मिथिलाले १८ दशमलव ३ ओभरमा ५ विकेट गुमाउँदै १ सय ५४ रनकाे लक्ष्य पूरा गर्‍यो । मिथिलाका लागि कुशल भुर्तेलले सर्वाधिक ५८ रन बनाएपछि टिम जित नजिक पुगेको थियो । यसैगरी, अर्का ब्याट्सम्यान रवि साह ४४ र बसिर अहमदले २५ रन बनाए । बलिङतर्फ विवेक यादव र अरनिकाे यादवले समान २-२ विकेट लिए ।

फाइनल खेलमा प्लेयर अफ दि म्याच कुशल भुर्तेल घाेषित भए । १ लाख ५१ हजारकाे नगद पुरस्कारसहित जनकपुर सनराइजर्सका विशाल पटेल प्लेयर अफ दी सिरिज भए । यस्तै, जनकपुरकै आशिष शेख बेस्ट ब्याट्सम्यान भए भने मिथिला वारियर्सका शेर मल्ल बेस्ट बलर भए । दुवै जनालाई नगद ५१-५१ हजार नगद पुरस्कार प्रदान गरियाे ।

यस्तै, उपविजेता सप्तरी बलानबिहुलले ४ लाख १ हजार रुपैयाँ प्राप्त गर्‍यो । प्रतियोगिताका विजेता-उपविजेतालाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह सहितका अतिथिले पुरस्कार हस्तान्तरण गर्नु भएको थियो ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।