काठमाडौं । पुरुष साफ च्याम्पियनशिप यो वर्ष आयोजना नहुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघले यस वर्ष आयोजना गर्ने भनिएको साफ च्याम्पियनसिप सन् २०२६ सम्मका लागि स्थगित गर्ने निर्णय गरेको जानकारी दिएको हो ।
यसअघि प्रतियोगिता होम र अवे ढाँचामा आयोजना गर्ने योजना भए पनि आवश्यक तयारी नपुगेको भन्दै प्रतियोगिता सारिएको हो । महासंघले विज्ञप्ति जारी गर्दै प्रतियोगितालाई भव्य बनाउ सबै सरोकारवालाले पर्याप्त समय पाउन आवश्यक रहेको जनाएको छ । यसअघि साफ च्याम्पियनसिप आउँदो असार ११ देखि २१ गतेसम्म आयोजना गर्ने मिति तोकिएको थियो ।
साफको साझेदार संस्था स्पोर्ट्स फाइभले ब्रान्डिङ र मार्केटिङको समस्याको कारण यो प्रतियोगिता भारतमा आयोजना गर्ने प्रस्ताव गरको छ । अब साफको अर्को बैठकले मात्रै मिति र देश सार्वजनिक गर्ने भएको छ । सन् २०२६ फिफा विश्वकप वर्ष पनि भएकाले प्रतियोगिताको उपयुक्त मिति र स्थान तय गर्न विशेष ध्यान दिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पछिल्लो पटक साफ च्याम्पियनशिप सन् २०२३ मा भारतमा आयोजना भएको थियो । सो साफमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । सन् २०२१ को साफमा फाइनल पुग्नु नै नेपालको अहिलेसम्मको सबैभन्दा उत्कृष्ट नतिजा हो ।