आईपीएल २०२५ : बैङलुरू अंक तालिकाको तेस्रो स्थानमा उक्लियाे

वैशाख १२, २०८२ |खेल ब्युरो
आईपीएल २०२५ : बैङलुरू अंक तालिकाको तेस्रो स्थानमा उक्लियाे

काठमाडौं । रोयल च्यालेन्जर्स बैङलुरूले राजस्थान रोयल्सलाई ११ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग-आईपीएल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । आरसिबीलाई यो सिजन घरेलु मैदानमा पहिलो जित दिलाउने क्रममा विराट कोहली र जोस हेजलउडले उत्कृष्ट प्रदर्शन गरे ।

चिन्नास्वामी स्टेडियममा राजस्थानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लियो । आरसिबीले पाँच विकेटको नोक्सानीमा २ सय ५ रनको योगफल बनाएको थियो । फिल सल्ट र विराट कोहलीले ६१ रनको ओपनिङ साझेदारी गरे । 

एक रनमा हुँदा फजल हक फारूकीको बलमा रियान परागले सल्टको क्याच ड्रप गर्नु महंगो सावित भयो । वानिन्दु हसरंगाले सल्टलाइ २६ रनमा आउट गर्दै राजस्थानलाइ पहिलो सफलता दिलाएका थिए । 

त्यसपछि कोहली र देवदत्त पाडिकलले इनिङस सम्हाले । कोहलीले ७० र पाडिकलले ५० रनको योगदान गरे । टिम डेविडले १५ बलमा २३ रन जोड्दा जितेश शर्मा २० रनमा अविजीत रहे । 

संदिप शर्माले दुई विकेट लिए । जवाफमा राजस्थानले नौ विकेटको क्षतिमा १ सय ९४ रन मात्र बनाउन सक्यो । यसस्वी जैसवाल र १४ वर्षीय वैभव सुर्यबंशीले राजस्थानलाई राम्रो सुरूवात दिलाएका थिए । तर राजस्थान फेरि फिनिसिङमा चुक्यो । 

वैभवले १८ र यसस्वीले ४९ रन जोडे । रियान पराग २२, नितिश राना २८ र सिमरोन हिटमायर २२ रनमा मैदान बाहिरिए । ध्रुव जुरेलले ४७ र सुशभ दुबेले १२ रन जोडेपनि जित दिलाउन सकेनन् । एक समय राजस्थान जीत नजिक पुगेको थियो । 

उसलाई अन्तिम ३ ओभरमा ४० रन आवश्यक थियो । १८औं ओभरमा शुभम र जुरेलले मिलेर भुवनेश्वर कुमारललाई २२ रन प्रहार गरे । यो महंगो ओभरपछि राजस्थान १२ बलमा १८ रन बनाउनु पर्ने सहज स्थितिमा पुग्यो । तर १९औं ओभर फालेका हेजलउडले खेल आरसिबीको पक्षमा ल्याए । 

उनले जुरेल र जोफ्रा आर्चरलाई आउट गर्दै एक रन मात्र दिएपछि राजस्थान पराजित भएको हो । हेजलउडले चार ओभरमा ३३ रन खर्चिएर चार विकेट लिए । आरसिबीले यसअघि घरेलु मैदानमा भएका तीन खेलमा हार बेहोरेको थियो । 

आरसिबीको नौ खेलबाट १२ अंक छ । शीर्ष दुईमा रहेका गुजरात टायटन्स र दिल्ली क्यापिटल्सको पनि आठ खेलबाट १२ अंक नै छ । छैटौं हार सातौं हार बेहोरेको राजस्थानको मात्र चार अंक छ । आइपिएलमा आज चेन्नई र हैदराबादबीच खेल हुनेछ ।