काठमाडौं । एपीएफ क्लबले आठौं राष्ट्रिय महिला भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई हराएको छ । प्रतियोगिताको उद्घाटन खेलमा एपीएफले सोझो सेटमा जित हात पारेको हो । अर्को खेलमा पुलिस क्लब विजयी भयो ।
प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा एक समय आर्मी १८-१६ ले अघि थियो । तर, आर्मीले त्यो अग्रता बचाउन सकेन र एपीएफले २५-२३ को जित हासिल गर्यो ।
दोस्रो सेटमा भने आर्मी सुरुबाटै पछि पर्यो । खेलमा १२-८ को अग्रता बनाएको एपीएफ एक समय १६-१३ ले अघि थियो । अन्ततः दोस्रो सेटको अन्तिममा लगातार अंक जोडेर २५-१३ को जीत हाासिल गरेको हो । तेस्रो सेटमा भने एपीएफले रवाफिलो प्रदर्शन गर्यो । उसले, १३-५ को अग्रता बनाएर २५-१६ को जीत निकालेको हो ।
आजै, भएको दोस्रो खेलमा नेपाल पुलिसले न्यू डायमन्ड क्लबलाई सोझो सेटमा नै हरायो । पहिलो सेटमा लगातार पछि परेको न्यू डायमन्ड १६-११ ले पछाडि रहेपछि पुनरागमन गर्न सकेन । यो सेट पुलिसले २५-१४ ले जित्यो ।
दोस्रो सेट तुलनात्मक रुपमा प्रतिस्पर्धात्मक बने पनि न्यू डायमन्डले १९-१६ को कमब्याक गरेको थियो । तर, २१-२१ मा बराबरी गरेर पुलिस २५-२२ ले विजयी भयो ।
तेस्रो सेटमा २५-१३ को फराकिलो अन्तरको जित हासिल गरेर पुलिसले विजयी सुरुवात गरेको हो । आज भएको उदघाटनमा शेरबहादुर प्रतिष्ठानले नेपाली महिला राष्ट्रिय भलिबल टिमका स्पाइकर उषा भण्डारी र प्रशिक्षक जगदिशप्रसाद भट्टलाई समान ५० हजार नगद सहित सम्मन गरेको छ ।