काठमाडौं । पूर्व विश्व नम्बर एक नाओमी ओसाका मड्रिड ओपनको पहिलो चरणबाटै बाहिरिएकी छिन् । गएराति सम्पन्न खेलमा उनी इटालियन खेलाडी लुसिया ब्रोन्जेट्टीसँग ३ सेटमा पराजित भएकी हुान् ।
पहिलो सेट ६-४ ले आफ्नो पक्षमा पारेकी ब्रोन्जेट्टीले दोस्रो सेट २-६ ले गुमाएकी थिइन् । तर त्यसपछि पुनरागमन गर्दै ६-४ को नतिजासहित खेल आफ्नो पक्षमा पारिन् ।
यो ब्रोन्जेट्टीका लागि ओसाकाविरुद्धको पहिलो जित हो । यसअघि उनी ओसाकासँग दुई पटक हारिसकेकी थिइन् । यस जितसँगै उनी लगातार दोस्रो वर्ष मड्रिड ओपनको दोस्रो चरणमा प्रवेश गर्न सफल भइन् ।
अब दोस्रो चरणमा ब्रोन्जेट्टीले पाँचौं वरियता प्राप्त अस्ट्रेलियन ओपन विजेता म्याडिसन कीजसँग खेल्नेछिन् ।
अर्को खेलमा वाइल्डकार्ड प्राप्त फिलिपिनी किशोरी अलेक्जान्द्र एलाले भिक्टोरिया टोमोभालाई ६-३, ६-२ ले पराजित गरिन् । उनले खेलमा २७ विनर प्रहार गरिन् र नौमध्ये ६ वटा ब्रेक प्वाइन्टको सदुपयोग गरिन् ।