काठमाडौं । अल-नासर साउदी प्रो लिगको तेस्रो स्थानमा उक्लिएको छ । गएराति सम्पन्न खेलमा अल-नासरले दमाकलाई ३-२ ले पराजित गरेको हो ।
कप्तान क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिमा कप्तानी गरेका सुल्तान अल-गन्नामले इन्जुरी समयमा गोल गर्दै अल-नासरलाई जित दिलाएका थिए ।
११ औं स्थानको दमाकले खेलको पहिलो हाफमै डिफेन्डर राम्जी सोलानको हेडमार्फत् अग्रता लिएको थियो । तर त्यो अग्रता दश मिनेट पनि टिक्न सकेन । २५ औं मिनेटमा स्पेनी डिफेन्डर आयमेरिक लापोर्टेले प्रहार गरेको बल डिफलेक्ट भई गोलमा परिणत भयो ।
७०औं मिनेटमा अली अलहसनले वान टचमै गरिएको स्मार्ट फिनिशमार्फत अल-नासरले खेलमा अग्रता बनायो । तर त्यसको ३ मिनेट पछि दमाकका निकोलाए स्टान्सियुले उत्कृष्ट गोल गर्दै पुनः खेल बराबरी गरे । खेलको अन्त्यमा अल-गन्नामले गोल गरेपछि अल-नासरले ३-२ को जित सुनिश्चित गर्यो ।
यस जितसँगै अल-नासर ६० अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ । ऊ शीर्षस्थानको अल-इत्तिहादभन्दा आठ अंकले पछि छ । दमाकको ३१ अंक रहेको छ ।