
काठमाडौं । नेपाली एकदिवसीय क्रिकेट टिमको नयाँ कप्तान सन्दीप लामिछानेसामु चुनौतीका चाङ नै छन्, जस्तो कि विश्वकप लिग–२ का बाँकी चार खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ओडीआई मान्यता जोगाउनुपर्ने छ भने एसीसी प्रिमियर कपमार्फत दोस्रोपटक एसिया कपको लक्ष्य चुम्नु छ । तर, सन्दीपले यसलाई चुनौतीभन्दा पनि नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने अवसरका रुपमा लिएका छन् ।
जारी विश्वकप लिग टुका पछिल्ला २ अवे सिरिजमा बेहोरेको क्लिन स्विप हारले नेपालको एकदिवसीय मान्यता धरापमा छ । यही बेला लेग स्पिनर सन्दीप लामिछानेको एकदिवसीय टिमको नेतृत्व पाएका छन् ।
लिग–टु का बाँकी चार खेल नेपालका लागि निर्णायक बन्दैछन् । पछिल्ला खेलमा अपेक्षित नतिजा आउन नसक्दा नेपालको ओडीआई मान्यता जोगाउने समीकरण पनि जटिल बनेको छ । तर, कप्तान सन्दीप भने बाँकी चारै खेल जित्न सके नेपाल बलियो अवस्थामा पुग्नेमा विश्वस्त छन् ।
नेपालको अर्को ठूलो लक्ष्य हो, एसिया कप । त्यसका लागि एसीसी प्रिमियर कपको उपाधि जित्नुपर्नेछ। तर, ओडीआई टिमको नेतृत्वसँगै अनुभवी खेलाडीलाई टिम बाहिर राख्दा स्पिनबाहेक अन्य सबै विभागमा खेलाडी परिवर्तन हुनेछन् । पुनरागमन गरेका खेलाडीलाई दबाबमा राख्नेभन्दा उनीहरूको क्षमतालाई मैदानमा स्वतन्त्र रूपमा प्रस्तुत गराउने रणनीति सन्दीपको छ ।
नेपाल पछिल्ला अवे खेलमा ब्याटिङमा संघर्ष गरिरहेको छ । बलिङलाई भने टोलीको बलियो पक्षका रूपमा हेरिएको छ । ओमान र मलेसियाजस्ता अवे खेलका लागि सोहीअनुसारको तयारी गर्ने कप्तानको योजना छ ।
नयाँ कप्तानका लागि सबैभन्दा ठूलो प्रेरणा भने पूर्वकप्तान रोहित पौडेलले छाडेको विरासत हो । सन्दीपले रोहितले कठिन परिस्थितिमा टोलीलाई अघि बढाएको भन्दै खुलेर प्रशंसा गरेका छन् । अब त्यही विरासतलाई निरन्तरता दिने जिम्मेवारी आफ्नो काँधमा आएको सन्दीपको भनाइ छ ।
कप्तानी फेरिए पनि नेपाली टोलीको लक्ष्य भने उही छ, जित । ओडीआई मान्यता जोगाउने, एसिया कपमा पुग्ने र नेपाली क्रिकेटको स्तरलाई अझ माथि उठाउने । त्यसका लागि मैदानमा कप्तान मात्रै होइन, सम्पूर्ण टोलीको एकीकृत प्रयास आवश्यक हुनेछ ।