शीर्षस्थानमा बार्सालाई पुनः सात अंकको अग्रता

वैशाख १०, २०८२ |खेल ब्युरो
शीर्षस्थानमा बार्सालाई पुनः सात अंकको अग्रता

काठमाडौं । डानी ओल्मोको निर्णायक गोलमा मल्लोर्काविरुद्ध घरेलु मैदानमा कठिन जित हात पारेको बार्सिलोनाले ला लिगाको शीर्षस्थानमा रियाल मड्रिडमाथि पुनः सात अंकको अग्रता बनाएको छ ।

कोपा डेल रेको फाइनलअघि प्रशिक्षक हान्सी फलिकले केही प्रमुख खेलाडीलाई विश्राम दिएका थिए । तर पनि बार्सिलोनाले खेलमा पूर्ण दबाब बनाएको थियो । मल्लोर्काका गोलकिपर लियो रोमानले उत्कृष्ट प्रदर्शन गरे । 

पहिलो हाफमा उनले ओल्मोको प्रहारलाई उत्कृष्ट ढंगले रोक्दा गाभीको प्रहार पोस्टमा लाग्यो । रोनाल्ड अराउजोले नजिकैबाट सुनौलो मौका गुमाए । लामिन यामाल, पेड्री र हेक्टर फोर्टले पनि पहिलो हाफमा गोलको प्रयास गरे । तर गोलको खाता दोस्रो हाफ सुरू भएको पहिलो मिनेटमै खुल्यो ।

ओल्मोले बक्सभित्र टाइड एङगलबाट बायाँ खुट्टाले बटम कर्नरमा बल फिनिस गर्दै सुन्दर गोल गरे । बार्सिलोनाले दोस्रो गोलको प्रयास जारी राख्दा यामालको प्रहार रोमानले वान भर्सेस वानको कठिन अवस्थामा जोगाए । 

तर मल्लोर्काले बर्साका लागि खतरा सिर्जना गर्न नसक्दा घरेलु टोलीले १-० को जित हात पार्यो । यो जितसँगै बार्सिलोनाले ३३ खेलमा २४ जितसहित ७६ अंक जोडेको छ । ऊ लिगको शीर्ष स्थानमा छ । 

रियालले एक खेल कम खेल्दै ६९ अंक जोडेको छ । यी दुई टोली आइतबार कोपा डेल रे फाइनलमा आमनेसामने हुँदै छन् । मल्लोर्काको ३३ खेलमा ४४ अकं छ । ऊ लिगको सातौं स्थानमा छ । 

आज राति ला लिगामा रियालले गेटाफेसँग खेल्ने तालिका छ । रियालले यो खेल जिते अंक दुरी कम गर्ने छ भने पराजित भए बार्सिलोना उपाधिको थप नजिक पुग्ने छ ।