नेपाली महिला राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान

वैशाख ८, २०८२ |खेल ब्युरो
नेपाली महिला राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ । एन्फाले पहिलो पटक प्रो-लाइसेन्स प्रशिक्षकको माग गरेको हो ।

एन्फाले आज सार्वजनिक सूचना जारी गर्दै दुई पदका लागि दरखास्त माग गरेको छ । एन्फाले महिला सिनियर राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकसँगै प्रदर्शन विश्लेषकका लागि अनुभव भएका उम्मेदवारहरूलाई ३० दिनभित्र दरखास्त दिन आग्रह गरेको छ । 

यसअघि एन्फाले आफू मातहतका प्रशिक्षकलाई महिला टिमको जिम्मेवारी दिने गरेको थियो । पछिल्लो समय ए लाइसेन्स प्रशिक्षक राजेन्द्र तामाङ, हरि खड्का, कुमार केसी लगायतले नेपाली टिम सम्हालेका थिए । त्यसैबीचमा केही समय अष्ट्रेलियाका ग्यारी फिलिप्सले पनि नेपाली महिला टिमको प्रशिक्षण गरेका थिए । 

कोचिङ लाइसेन्स प्रशिक्षणका लागि नेपाल आएका ग्यारीले महिला टिमलाई एक प्रतियोगिता खेलाएका थिए । अहिले भने एन्फाले आवेदन नै खुला गरेर महिला टिमका लागि प्रो-लाइसेन्स प्रशिक्षक माग गरेको हो । 

महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बन्न इच्छुक उम्मेदवारले प्रो लाइसेन्ससँगै सिनियर महिला टिम वा राष्ट्रिय तहको युथ टिमलाई प्रशिक्षण दिएको कम्तीमा २ वर्षको अनुभव हुनुपर्नेछ । 

त्यसैगरी, प्रदर्शन विश्लेषक पदका लागि आवेदकले फिटनेस कोर्स र फुटबलमा डाटा विश्लेषण सम्बन्धी लेभल एक प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ । दरखास्त दिने अन्तिम म्याद आगामी जेठ ७ गते रहेको छ । पछिल्लो समय महिला फुटबलका प्रतियोगिता लगातार भइरहेका छन् भने घरेलु प्रतियोगिता पनि आयोजना हुन थालेका छन् ।