आईपीएलमा मुम्बईको लगातार तेस्रो जित, रोहित शर्माको पहिलो अर्धशतक

वैशाख ८, २०८२ |खेल ब्युरो
आईपीएलमा मुम्बईको लगातार तेस्रो जित, रोहित शर्माको पहिलो अर्धशतक

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले लगातार तेस्रो जित हात पारेको छ । गए राति सम्पन्न खेलमा मुम्बईले चेन्नई सुपर किङ्ग्सविरुद्ध ९ विकेटको शानदार जित हात पारेको हो ।

यससँगै जारी सिजन दुवै टिमले एक अर्काविरुद्ध १-१ खेल जितेका छन् । सिजनको पहिला हाफमा खेलिएको खेलमा चेन्नईले मुम्बईलाई ४ विकेटले हराएको थियो ।

सिजनको सुरुआतमा खराब प्रदर्शन गरेको मुम्बईले पछिल्लो पटक भने उत्कृष्ट पुनारागमन गरेको छ । मुम्बईको जितमा रोहित शर्मा र सूर्यकुमार यादवले आक्रामक साझेदारी गरे । 

वाङखेडे स्टेडियममा घरेलु टोली मुम्बईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । खराब सुरुआत गरेको चेन्नईका लागि ओपनर रचिन रवीन्द्रले ५ रन बनाए । आयुष माहात्रे २२ रनमा आउट भए । आयुषका लागि यो आईपीएलमा डेब्यु खेल थियो । शेख रसिद १९ रनना आउट भए । चौथो विकेटका लागि रवीन्द्र जडेजा र शिवम दुबेले ५० बलमा ७९ रनको साझेदारी गरे । शिवमले ३२ बलमा २ चौका र ४ छक्कासहित ५० रनको अर्धशतकीय योगदान दिए । 

जडेजाले अविजित ५३ रन बनाए । मुम्बईका लागी जसप्रित बुम्राहले २ विकेट लिए ।

जवाफमा १७७ रनको लक्ष्य मुम्बईले १५ ओभर ४ बलमा केवल १ विकेट गुमाएर पूरा गर्‍यो । ओपनर रायन रिकेल्टन २४ रनमा रवीन्द्र जडेजाको बलमा आउट भए । दोस्रो विकेटका लागि रोहित शर्मा र सूर्यकुमार यादवले अविजित ११४ रनको साझेदारी गरे । रोहितले ४५ बल खेल्दै ४ चौका र ६ छक्कासहित ७६ रन बनाए । सूर्यकुमारले ३० बलमा ६ चौका र ५ छक्काको मद्दतमा अविजित ६८ रन बनाए । चेन्नईका लागि रवीन्द्र जडेजाले एक विकेट लिए ।

जितसँगै मुम्बई लिगको छैटौं स्थानमा उक्लिएको छ । मुम्बईले ८ खेलमा ४ जित र समान ४ हारको सामना गरेको छ । उसको ८ अंक छ । ८ खेलमा २ जितसहित ४ अंक जोडेको चेन्नई तालिकाको पुछारमा छ ।