काठमाडौं । ई-स्पोर्ट्स संघ नेपाल (ईसान) ले नेपालमा पहिलो पटक एसियाली स्तरको ई–स्पोर्ट्स च्याम्पियनसिप आयोजना गर्ने भएको छ । नेपाल सरकारको नीति तथा कार्यक्रम र चालू आर्थिक वर्षको बजेटमा समावेश गरिएको उक्त प्रतियोगिता वैशाख २६, २७ र २८ गते हुने भएको स्थानीय आयोजन ईसानले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति र ई-स्पोर्ट्स संघ नेपालको आयोजनामा ‘ईशान एसियन पब्जी मोबाइल च्याम्पियनसिप’ अनलाइनमार्फत सञ्चालन गरिनेछ । प्रतियोगितामा नेपाल सहित एसियाका १३ देश सहभागी हुने आयोजकले जानकारी दिएको छ ।
नेपालबाट सहभागी हुने टिमहरूमा ‘डीआरएस गेमिङ’, ‘नेपाल होर ई–स्पोर्ट्स’ र ‘नेपेक्स ई-स्पोर्ट्स’ गरी तीन टोलीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा मलेसिया, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, पाकिस्तान, बंगलादेश, जोर्डन, सिरिया, लाओस, लेबनान, मंगोलिया, श्रीलंका र माल्दिभ्सका टिम सहभागी हुने पक्का भएको संघले जानकारी दिएको छ ।
प्रतियोगितामा नेपालका शीर्ष तीन टोलीसँगै अन्य देशका उत्कृष्ट टिमहरू पनि सहभागी हुनेछन् । संघका अनुसार राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने टिमले नेपाललाई प्रतिनिधित्व गर्नेछ । ई-स्पोर्ट्स संघ नेपालले भर्चुअल एरिनामा एसियाका उत्कृष्ट गेमरहरूलाई एकै स्थानमा जोड्ने अवसरका रूपमा यस प्रतियोगितालाई लिएको छ ।
सरकारद्वारा ई-स्पोर्ट्स खेललाई नीति तथा बजेटमा समावेश गरेर देखाएको चासोप्रति संघले आभार प्रकट गरेको छ ।