आइपिएल २०२५ : आरसिबीले पन्जाबलाई ७ विकेटले हरायो

वैशाख ७, २०८२ |खेल ब्युरो
आइपिएल २०२५ : आरसिबीले पन्जाबलाई ७ विकेटले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएलमा रोयल च्यालेन्जर्स बैङलुरु, आरसिबीले पन्जाव किङ्सलाई ७ विकेटले हराएको छ । पञ्जावको मुल्लानपुर क्रिकेट मैदानमा भएको खेलमा १ सय ५८ रनको लक्ष्य पछ्याएको आरसिबीले तीन विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

खेलमा आरसिबीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएसँगै घरेलु टिम पन्जाबले ब्याटिङको निम्तो पायो । पन्जाबका लागि ओपनिङमा आएका प्रियन्स आर्य र प्रभ-सिमरन सिंहले ४२ रनको साझेदारी गर्न सके । ४ ओभर २ बलमा आर्य व्यक्तिगत २२ रन बनाएर आउट भए । प्रभ-सिमरनले ३३ रनको योगदान गरे । 

यता, चौथो नम्बरका जोस इङ्लिसले २९ रन बनाए भने सशांक सिंहले अविजित ३१ रन जोडेका थिए । उनले अन्तिममा मार्को यानसनसँग ४३ रनको साझेदारी गरे ।  सुरुआति लयलाई कायम राख्न नसकेको पञ्जाबले ६ विकेट क्षतिमा १ सय ५७ रन बनायो । पन्जाबविरुद्ध आरसिबीका क्रुणल पाण्ड्या र सूर्यस शर्माले समान २-२ विकेट लिएका थिए । 

जवाफमा आरसिबीका ब्याटरले दबाबरहित भएर खेले । ओपनर फिल साल्ट एक रनमै आउट भए पनि बाँकी खेलाडीले राम्रो प्रदर्शन गरे । विराट कोहलीले ५४ बलमा अविजित ७२ रन बनाएका थिए । उनले ८ बाउन्ड्री प्रहार गरे । त्यसैगरी, देवदत्त पडिक्कलले ३५ बलमै ६१ रन बनाए । उनले पाँच चौका र चार छक्का प्रहार गरेका थिए । 

अन्तिममा विराटले ११ रन बनाएका जितेश शर्मासँग मिलेर खेल फिनिस गरेका हुन् । आजको खेलपछि विराट आईपीएलमा जारी सिजन धेरै रन बनाउने खेलाडीको शीर्ष तीनमा उक्लिएका छन् । उनले ३ सय २२ रन बनाएका छन् । 

बलिङमा पन्जाबका लागि अर्षदिप सिंह, हरप्रित ब्रारर र युजवेन्द्र चहलले समान १-१ विकेट लिए । यी दुई टिमले जारी सिजन दोस्रो पटक खेल्दा दुवैले समान एक एक जित हात पारे । 

गत शुक्रबार मात्र भएको प्रतिस्पर्धामा पन्जाबले आरसिबीलाई ५ विकेटले हराएको थियो । आरसिबी ८ खेलबाट १० अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । समान ८ खेलबाट १० अंक नै जोडेको पन्जाब चौथो स्थानमा छ । आरसिबीले जारी सिजन जितेका पाँच खेल अवे मैदानमा हुन् ।