काठमाडौं । पोखरा थन्डर्स नेपाल सुपर लिग एनएसएलको दास्रो क्वालिफायरमा पुगेको छ । दशरथ रंगशालामा आज साँझ सम्पन्न खेलमा एफसी चितवनलाई ३-० ले हराउँदै पोखरा दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । पोखरा लगातार दोस्रो सिजन क्वालिफायरमा पुगेको हो ।
यो खेल नकआउट भएको कारण सुरुबाटै निकै प्रतिस्पर्धात्मक बन्यो । पोखराका विङ्गर आयुष घलानको ब्याक पासमा जो आइडुले २५ यार्ड बाहिरबाट गरेको प्रहार गोलकिपर अमल नाइटले बचाएका थिए । ११ मिनेटमा भने उनले फ्रेममा प्रहार गर्न सकेनन् । पहिलो आधा घण्टासम्म पोखराले राम्रो अट्याक बनाएर गोलको प्रयास गरे पनि सफल हुन सकेन् । २६औं मिनेटमा चितवनका नोदिर माभ्लनोभको प्रहार फ्रेममा पर्नै सकेन । २८औं मिनेटमा टोरिक जेब्रिनको प्रहार गोलकिपर गुलियम प्रिसोले बचाए ।
३०औं मिनेटमा चितनवका निरज चौधरीको एक्रोब्याटिकसमेत गोलकिपर प्रिसोले रक्षा गरेका थिए । ३७औं मिनेटमा चितवनका नोदिरको फ्रि किक क्रसबारको केही माथिबाट बाहिरिपछि पहिलो हाफ गोलरहित बनेको थियो ।
दोस्रो हाफको सुरुमै चितवनले दुई खेलाडी परिवर्तन गर्यो । तर, ६०औं मिनेटमा पोखराले अग्रता बनायो । पोखराका फरवार्ड स्टेफेन समिर विनोङको पावरफुल सट गोलकिपर अमल नाइटले नियन्त्रणमा लिन नसक्दा, रिबाउन्ड बललाई समिर तामाङले क्रस गरेका थिए । सोही बल बचाउने क्रममा चितवनका अभिषेक लिम्बूले आत्मघाति गोल गरे ।
यससँगै पोखरा १- शून्यको अवस्थामा पुगेको हो । त्यसपछि दुई परिवर्तन गरेको पोखराले ७२औं मिनेटमा अग्रता दोब्बर पार्यो । जन्मेजय धामीको क्रसमा आइडुले गरेको प्रहार चितवनकै खेलाडीबाट डिफ्लेक्ट भएर क्रसबारमा ठोक्किएर गोल भएको हो । त्यसको चार मिनेटमा नै पोखराले अर्को गोल पनि थप्यो । सब्सिटच्युट खेलाडी चन्दनको पासमा आइडूले व्यक्तिगत दोस्रो गोल गरेका थिए ।
यससँगै, चितवन ३-० ले पराजित भएर प्रतियोगिताबाट बाहिरियो । विजयी पोखराले अब फाइनल प्रवेशका लागि बुधबार साँझ धनगढी एफसीको सामना गर्नेछ । पोखरा लगातार दोस्रो सिजन क्वालिफायरमा पुगेको हो । गत सिजन पोखरा क्वालिफायरमा धनगढीसँगै पराजित भएर बाहिरिएको थियो । चितवन पहिलो पटक सुपर लिगको प्ले अफमा पुगेको थियो ।