काठमाडौं । राजधानीको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न बागमती वारियर्स प्रदेशस्तरीय पावरलिफ्टिङ प्रतियोगितामा मनुकला राई र सुजित अवाले ‘ओभरअल’ विजेता बन्न सफल भएका छन् ।
महिलातर्फ टीपी फिटनेस सेन्टरकी मनुकला राईले ४३५.५ केजी भार उठाएर ८२.६९ जीएल स्कोरसहित ओभरअल च्याम्पियनको उपाधि हात पारिन् । पुरुषतर्फ आरओसी फिटनेस क्लबका सुजित अवालेले स्क्वाटमा ३०० केजी, बेन्च प्रेसमा १५२.५ केजी र डेडलिफ्टमा २९० केजी गरी कुल ७४२.५ केजी भार उठाउँदै ९३.९३ स्कोरसहित शीर्ष स्थान हासिल गरे ।
प्रतियोगितामा विभिन्न उमेर समूह तथा तौल वर्ग अनुसार महिला र पुरुष खेलाडीहरूले सहभागिता जनाएका थिए । २३ वर्षमुनिको जुनियर समूहमा प्याराडाइज फिटनेसका आक्रित बनियाँले ६१७.५ केजी लिफ्ट गरी ८५.५३ जीएल स्कोरसहित उत्कृष्ट प्रदर्शन गरे । १८ वर्षमुनिको समूहमा फिटनेस मन्त्रका अंकित योञ्जनले ४४७.५ केजी भार उठाएर ६६.९८ स्कोर प्राप्त गर्दै विजेता बने ।
महिला समूहतर्फ विभिन्न तौलवर्गमा शिल्पा अग्रवाल ले ३१० केजी, पुनम चौधरी ले ३४२.५ केजी, महिमा सिंतानले ३२५ केजी, र अल्बिना रजथलाले ३६० केजी भार उठाउँदै आआफ्नो वर्गमा चम्किए ।
त्यस्तै, पुरुषतर्फ हिमाल महतले ४७७.५ केजी, अनिकित शाही ले ५४२.५ केजी, रुनेश श्रेष्ठ ले ५५७.५ केजी, विजय प्रजापतिले ६२५ केजी, र प्रसिद्ध शाक्यले ६९२.५ केजी लिफ्ट गर्दै आफ्ना वर्गमा उत्कृष्ट स्थान प्राप्त गरे ।
प्रतियोगितामा देशभरका प्रतिष्ठित क्लबहरूको सहभागिता रहेको थियो, जसले नेपाली पावरलिफ्टिङको लोकप्रियता र सम्भावनालाई प्रतिविम्बित गरेको देखिन्छ । कार्यक्रमको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले गर्नुभयो । उद्घाटन समारोहमा उहाँले भन्नुभयो, “प्रदेशस्तरीय यस्ता प्रतियोगिताहरू युवामा अनुशासन, आत्मविश्वास र स्वास्थ्यप्रतिको चेतना बढाउने माध्यम हुन् । आगामी दिनमा प्रदेश सरकारले यस्ता गतिविधिहरूलाई अझै बढी प्रोत्साहन गर्नेछ ।”