मोरङ । कोशी सरकारले आयोजना गर्ने लगानी सम्मेलनमार्फत् लगानी भित्र्याउन निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै बढीभन्दा बढी स्वदेशी र विदेशी लगानीकर्ता भित्र्याउन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आग्रह गर्नु भएको छ ।
कोशी प्रदेश सरकारले वैशाख १८ र १९ गते विराटगरमा आयोजना गर्ने लगानी सम्मेलनको तयारीबारे राय लिने क्रममा मुख्यमन्त्री कार्कीले लगानी भित्र्याउन निजी क्षेत्रको भूमिका अहम् हुने बताउनु भयो ।
उहाँले लगानी सम्मेलनमार्फत आर्थिक गतिविधि बढ्ने र कोशी प्रदेशको मात्र नभएर देशमै लगानीको वातावरण बन्नेमा लगानी सम्मेलन फलदायी बनाउन सबै पक्षलाई आग्रह गर्नुभयो ।
लगानी सम्मेलनको मुख्य संयोजक समेत रहनु भएका मुख्यमन्त्री कार्कीले लगानी सम्मेलनको तयारीबारे उद्योगी, व्यापारी, कोशी प्रदेशका मन्त्री तथा सरकारी निकायका प्रमुख तथा प्रतिनिधिसँग राय लिनु भएको हो ।
विराटनगरमा आयोजना गर्न लागिएको सम्मेलनमा आठ वटा क्षेत्रका १ खर्ब ७० अर्ब बराबरका ५४ भन्दा बढी परियोजना सोकेसमा राखिने लगानी बोर्ड कोशी प्रदेशका कार्यकारी निर्देशक सरोज कोइरालाले जानकारी दिनु भयो ।
आयोजक समिति सचिवालयका संयोजक पवनकुमार तिमिल्सेनाले कृषि, पर्यटन, पूर्वाधार, उद्योग, उर्जा, स्वास्थ्य लगायतका आठ वटा क्षेत्रमा लगानी भित्र्याउने गरी सम्मेलन अन्तिम चरणमा पुगेको जानकारी गराउनु भयो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले हालसालै संशोधन भएको आर्थिक ऐनबाट लगानीको वातावरण सिर्जना भएकाले सम्मेलनलाई फाइदा पुग्ने बताउनु भयो । लगानी भित्र्याउन भूउपयोग नीति ल्याउने तयारीमा कोशी सरकार रहेको भन्दै बाधा बनेका कानुन पनि चाँडै संशोधन प्रक्रियामा लैजाने बताउनु भयो ।