काठमाडौं । आईसीसी अन्डर-१९ विश्वकप एसिया छनोटको अन्तिम खेलमा भोलि नेपाल र अफगानिस्तान भिड्दै छन् । राउन्ड रोबिनको अन्तिम खेल भए पनि यो खेल फाइनल सरह बनेको छ ।
प्रतियोगितामा सहभागी बाँकी ३ टिम बाहिरिई सक्दा भोलि हुने यो खेलको विजेताले २०२६ मा नामिबिया र जिम्बावेमा हुने अन्डर-१९ विश्वकपमा स्थान बनाउने छ । वर्षा हुने पूर्वानुमानबीच नेट रन रेटमा अघि रहेको अफगानिस्तानलाई केही फाइदा पुग्ने देखिन्छ । नेपाललाई नवौं पटक विश्वकपमा पुग्न जित बाहेकको विकल्प छैन ।
तल्लो मूलपानीको नवनिर्मित पिच । पूर्वानुमान गरिएको वर्षा । अनि त्यहीँ इतिहास रच्ने तयारीमा छन्- दुई राष्ट्र नेपाल र अफगानिस्तानका युवा टोली ।
२०२६ मा नामिबिया र जिम्बावेमा हुने अन्डर-१९ विश्वकपमा स्थान बनाउन नेपाल र अफगानिस्तान मात्र एक खेल टाढा छन् । लिग चरणमा दुवै टोलीको अपराजित यात्रा अब निर्णायक मोडमा आइपुगेको छ । दुवै पक्षले तीन-तीन खेलमा शानदार जित हात पारेका थिए । नेपालले यूएईलाई डीएलएस पद्धतिमा ५ रन, ओमानलाई ८ विकेट र हङकङलाई ९ विकेटले पराजित गरेको थियो ।
उता अफगानिस्तानले ओमान र हङकङलाई समान ८-८ विकेटले हराउँदा यूएईमाथि डीएलएसका आधारमा १८० रनको जित दर्ता गरेको थियो ।
अफगानिस्तानका खालिद अहमदजई २०२ रनसहित सबैभन्दा अग्रस्थानमा छन् । नेपालका कप्तान नरेन भट्ट र शाहिल पटेल समान ११८ रनसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । बलिङतर्फ युवराज खत्री ९ विकेटसहित शीर्ष स्थानमा छन् भने ६ विकेट लिइ सकेका सन्तोष यादव दोस्रोमा छन् ।
यो भिडन्त केवल छनोटको अन्तिम खेल मात्र होइन, भावनात्मक रूपमा पनि विशेष छ । २०२४ मा दक्षिण अफ्रिकामा सम्पन्न यु-१९ विश्वकपमा नेपालले अफगानिस्तानलाई हराउँदै सुपर सिक्स चरणको यात्रा तय गरेको थियो । सोही हारको चोट बोकेर अफगानिस्तान यो पटक छनोट खेल्न नेपाल आएको हो ।
तर केही हप्ताअघि सम्पन्न ३ खेलको अभ्यास सिरिज २-१ ले आफ्नो पक्षमा पारेको अफगानिस्तानले बदला लिन तयार रहेको संकेत गरिसकेको छ । दोस्रो खेलमा नेपाल १ रनले मात्र चुक्दा शृंखला हार्नुपरेको थियो ।
न्यून बाउन्स प्राप्त हुने तल्लो मुलपानी मैदानको पीचमा स्पीन बलरहरू निर्णायक हुन सक्नेछन् । नेपालले यही मैदानमा अघिल्ला खेलमा एक जना मात्रै फास्ट बलर समावेश गरेको थियो । जबकि अफगानिस्तानले पनि स्पीन आक्रमणलाई बलियो बनाउने रणनीति अवलम्बन गर्ने सम्भावना छ र ऊसँग क्षमतावान स्पीनर छन् ।
शक्ति गौचनको प्रशिक्षणमा रहेको नेपाली टोली नवौं पटक अन्डर-१९ विश्वकपको यात्रा तय गर्ने लक्ष्यमा छ । तर त्यसका लागि शनिबारको खेल पूरै हुनु अनिवार्य छ । नेट रनरेटमा अगाडि रहेको अफगानिस्तानलाई पछि पार्न नेपाललाई जितबाहेक विकल्प छैन । तर पानी पर्ने पूर्वानुमानबीच खेल पूर्ण हुन नसके अफगानिस्तानले बाजी मार्ने छ ।
के नेपालले अफगानिस्तानसँग अभ्यास शृंखलामा भोगेको हारको बदला लिँदै विश्वकपको यात्रा तय गर्ला वा अफगानिस्तानले २०२४ को विश्वकपमा नेपालसँगको हारले दिएको पीडामा मलहम लगाउला ? मूलपानी मैदानमा शनिबार हुने खेलले एक टिमको सपना पूरा हुनेछ ।