६ वर्षमा पहिलोपटक बार्सिलोना युएफा च्याम्पियन्स लिगको सेमिफाइनलमा

वैशाख ३, २०८२ |खेल ब्युरो
 ६ वर्षमा पहिलोपटक बार्सिलोना युएफा च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं । पाँच पटक युरोपियन च्याम्पियन बार्सिलोना पछिल्लो ६ वर्षमा पहिलोपटक युएफा च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न दोस्रो लेगमा बोरूसिया डर्टमण्डसँग ३-१ ले पराजित भएपनि बार्साले समग्रमा ५-३ को जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो । 

बार्साले पहिलो लेगमा बनाएको ४-० को अग्रताले उसलाई अन्तिम ४ मा स्थान दिलाउन मद्दत गर्यो । डर्टमण्डका लागि सेरहु ग्विरासीले ह्याट्रिक गरे र बार्साको लामो समयदेखिको अपराजित यात्रामा पुर्णविराम लगाए तर त्यो हार बार्सिलोनाको सेमिफाइनल यात्रा रोक्न पर्याप्त भएन । 

गिनीका अन्तर्राष्ट्रिय स्ट्राइकर ग्विरासीले ११औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । दोस्रो हाफ सुरू भएको चार मिनेटमै उनले हेडमार्फत् दोस्रो गोल थप्दै डर्टमण्डको उत्साह बढाएका थिए । 

पहिलो लेगमा ४-० ले हारिसकेको डर्टमण्डले बार्साको ४ गोलको अग्रता उल्ट्याउने प्रयास गर्दा ५४ औं मिनेटमा रामी बेन्सेबाइनीको आत्मघाती गोलले स्पेनी टोलीलाई राहत दियो । ग्विरासीले ७६औं मिनेटमा डिफेन्सको गल्तीको फाइदा उठाउँदै ह्याट्रिक पूरा गरे । 

जारी च्यम्पियन्स लिगमा १३ गोल गरेका उनी शीर्ष स्कोररसमेत हुन् । डर्टमण्डलाई खेललाई एक्स्ट्रा-टाइममा लैजान अझै दुई गोल चाहिएको थियो । तर त्यसो हुन नसक्दा बार्साले सेमिफाइनल यात्रा सुनिश्चित गर्‍यो । अब बार्सिलोना सेमिफाइनलमा इन्टर मिलान र बायर्न म्युनिखबिचको विजेतासँग भिड्नेछ । यो खेल आज राति खेलिने छ ।