एनएसएल : बुटवल-लुम्बिनीलाई हराउँदै पोखरा पुग्यो प्लेअफमा

वैशाख २, २०८२ |खेल ब्युरो
एनएसएल : बुटवल-लुम्बिनीलाई हराउँदै पोखरा पुग्यो प्लेअफमा

काठमाडौं । पोखरा थन्डर्सले नेपाल सुपर लिगको प्ले अफमा स्थान पक्का गरेको छ । दशरथ रंगशालामा आज साँझ बुटबल लुम्बिनी एफसीलाई २-० ले हराउँदै पोखराले अन्तिम चारमा स्थान पक्का गरेको हो । यससँगै पोखरा लगातार दोस्रो सिजन प्ले अफमा पुगेको हो ।

खेलको आठौं मिनेटमा उत्कृष्ट प्रहार र बचाउ भयो । बुटबलका स्टार खेलाडी मनिष डाँगीको प्रहार पोखराको गोलकिपर गुलियम प्रिसोले बचाएका थिए । तर, १०औं मिनेटमा पोखराले अग्रता लियो । मार्की समिर तामाङले बायाँबाट दिएको पासमा आयुष घलानले हेडमार्फत् गोल गरेका हुन् । जारी सिजनमा आयुषको यो पहिलो गोलसमेत हो ।

आजको खेलमा पोखराले निरन्तर अट्याक बनायो । १०औं मिनेटमा कप्तान नवयुगको प्रहार पोस्टबाहिर गयो । ११औं मिनेटमा समिरको प्रहार सुमन श्रेष्ठले बचाएका थिए । बुटबलका फत्तेमानको प्रहार पनि बाहिरिएको थियो । २३औं मिनेटमा समिरले वान भर्सेस वानमा गरेको प्रहार गोलकिपर दीप कार्कीले उत्कृष्ट बचाउ गरे। उनले २९औं मिनेटमा जो आइडुको प्रहार पनि पन्च गरेका थिए । 

पहिलो हाफभरि नै पोखराका फरवार्डले बुटबल लुम्बिनीको रक्षापंक्तिलाई व्यस्त राख्यो। तर, दीप कार्कीले लगातार उत्कृष्ट बचाउ गरेपछि पोखराले एक गोलको मात्रै अग्रता बनाएको थियो । 

दोस्रो हाफमा भने विएसी विलियम गोल गर्न सफल भए । नवयुगले प्रहार गरेको कर्नर बलमा उनले हेडर गोल गरेर पोखराको अग्रता २-० मा पुर्‍याए । यससँगै बुटबल दबाबमा आएको थियो । सिजनमा एक खेल पनि जित्न नसकेको बुटबल लुम्बिनीले ६२औं मिनेटमा निकै राम्रो अवसर गुमायो । पोखराका गोलकिपर अघि बढिसकेको अवस्थामा निरज धामीले दायाँ साइड च्यापेर गरेको प्रहार पोस्टको निकै टाढा गयो । 

६५औं मिनेटमा एरिक विष्टको प्रहार पनि बाहिरियो । दोस्रो हाफको अन्तिम समयको खेल प्रतिस्पर्धात्मक बने पनि थप गोल हुन नसक्दा पोखरा विजयी भएको हो ।  आजको खेलपछि पोखराले ६ खेलको समाप्तिमा ८ अंक बनायो । बुटबल लुम्बिनीले सिजनभरि एक अंक मात्रै बनायो । यस खेलको नतिजासँगै झापाको प्ले अफमा पुग्ने सम्भावना समाप्त भएको छ । अब काठमाडौंको अन्तिम चार पुग्ने सम्भावना पनि लिग चरणको अन्तिम खेलमा चितवनको नतिजामा भर पर्नेछ ।