काठमाडौं । नेपाल सुपर लिग अन्तर्गत आज भएको खेलमा धनगढी एफसीले पोखरा थन्डर्स एफसीसँग गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले गोलका अवसर सदुपयोग गर्न नसक्दा एक-एक अंकमा चित्त बुझाएका हुन् ।
खेलमा आज धनगढीले चार परिवर्तन गरेको थियो । प्रशिक्षक खुवान म्यानुअल मार्टिनेजले जर्ज प्रिन्स कार्की, एल जाउएनी, राम वाजी र अमृत श्रेष्ठलाई बेञ्चमा राखेर युवा खेलाडीलाई अवसर दिएका थिए । खेलको आठौं मिनेटमा समीर तामाङको प्रहार आकाशियो । तर खेल अघि बढ्दै जाँदा दुवै टिमको अग्रपङ्क्ति चल्न सकेन र पहिलो हाफमा दुवै टिमले राम्रो मुभ बनाउन सकेनन् । यद्यपि ३६ औं मिनेटमा ब्राजिली खेलाडी सर्जियो बारबोजाको प्रहार गोलकिपरले क्लियर गरे ।
दोस्रो हाफ तुलनात्मक रूपमा रोमाञ्चक देखियो । ५० औं मिनेटमा धनगढीका अहमद हिजाजीको हेडर गोलकिपर गुलियम प्रिसोले बचाएका थिए । अर्को मिनेटमा सुदिल राईले बायाँ खुट्टाले गरेको प्रहार पहिलो बारको नजिकैबाट बाहिरिएको थियो । पोस्ट नजिकै पोखराले पाएको फ्रि किकमा सुरजको प्रहार फेरि आकाशिएको थियो । दुवै टिमले कमै अवसर पाएको भए पनि सदुपयोग गर्न सकेनन् ।
६७ औं मिनेटमा हिजाजीले राम्रो मुभ बनाएर पोखराको टोलीलाई खतराको संकेत गरेका भए पनि डिफेन्डरले उनको अट्याक निस्तेज पारेका थिए । पोखराको खेलमा आज प्रिसो उत्कृष्ट सावित भए । उनले ७१ औं मिनेटमा दुई उत्कृष्ट बचाउ गरे । खेलको २० मिनेट बाँकी रहँदा दुवै टिमले रणनीतिक परिवर्तन गरे पनि गोल भने हुन सकेन । अन्तिममा जर्ज प्रिन्स कार्कीको प्रहार दोस्रो बार नजिकैबाट बाहिरिएपछि खेल गोलरहित बनेको हो ।
यो बराबरीसँगै धनगढीले तीन खेलबाट पाँच अंक बनाएको छ भने पोखराले चार खेलबाट चार अंक नै बनाएको छ । लिगमा भोलि एफसी चिवतनले ललितपुर सिटीको सामना गर्नेछ ।