रियाल मड्रिडविरुद्ध आर्सनलकाे शानदार जित

वैशाख ४, २०८२ |खेल ब्युरो
रियाल मड्रिडविरुद्ध आर्सनलकाे शानदार जित

काठमाडौं ।  ग्याब्रियल मार्टिनेलीले अन्तिम समयमा गोल गरेपछि इंग्लिस टोली आर्सनलले रियाल मड्रिडविरुद्ध २-१ को शानदार जित हात पार्दै समग्रमा ५-१ को नतिजासहित च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो लेगमा ३-० को अग्रता बनाएको आर्सनलले स्यान्टियागो बर्नाबेउमासमेत घरेलु टोली रियाललाई स्तब्ध पार्यो । ऐतिहासिक पुनरागमन गर्ने अपेक्षा गरेको डिफेन्डिङ च्याम्पियन रियाल दुबै लेगमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको छ । 

रियाल च्याम्यिन्स लिगको कीर्तिमानी १५औं पटकको च्याम्यिन हो । आर्सनल १६ बर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।

पहिलो हाफमा डेविड आलाबाले मिकेल मेरिनोलाई तान्दा पेनाल्टी दिइएको थियो । तर बुकायो साकाको प्रहार कोट्र्वाले बचाए । साका च्याम्पियन्स लिग क्वाटरफाइनल वा त्यसपछि पेनाल्टी मिस गर्ने पहिलो आर्सनल खेलाडी बने ।

त्यसपछि डेक्लान राइसले किलियन एम्बाप्पेलाई रोक्दा दिइएको पेनाल्टी भिएआरले उल्टाइदियो । सुरूवाती एक घण्टा दुबै टिमबाट गोल हुन सकेन । साकाले ६५औं मिनेटमा डेडलक तोडेपछि आस्रनलले अग्रता थप विस्तार गर्यो । 

त्यसको २ मिनेटपछि विलियम सालिबाको गल्तीको फाइदा उठाउँदै भिनिसियस जुनियरले गोल गर्दै रियाललाई खेलमा फर्काउने प्रयास गरे । तर अन्तिम समयमा मेरिनोको पासमा मार्टिनेलीले उत्कृष्ट फिनिश गर्दै आर्सनलको जित पक्का गरे । 

आर्सनलले अव फाइनल प्रवेशका लागी पेरिस सेन्ट-जर्मेन पीएसजीसाग प्रतिूपर्धा गर्ने छ । सेमिफाइनलको पहिलो लेग अप्रिल ३० र दोस्रो लेग मे ७ मा खेलिने छ ।