काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखलाई हराउँदै इटालियन क्लब इन्टर मिलान पनि युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गएराति सम्पन्न दोस्रो लेगमा इन्टरले घरेलु मैदानमा बार्यनसँग २-२ को बराबरी खेले पनि पहिलो लेगमा हात पारेको २-१ को जितले इन्टरलाई समग्रमा ४-३ को नतिजा सहित अन्तिम ४ मा स्थान दिलाएको हो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको ५२औं मिनेटमा बायर्नका हृयारी केनले गोल गर्दै अग्रता बनाएका थिए । अर्जेन्टिनी स्टार लौटारो मार्टिनेजले ६ मिनेटपछि नै बराबरी गोल फर्काए ।
बेन्जामिन पाभार्डले ६१औं मिनेटमा गोल गर्दै इन्टरलाई २-१ ले अघि बढाए । तर, ७६औं मनिेटमा इरिक डिअरले गोल गर्दै बार्यनलाई खेलमा फर्काउने प्रयास गरे । तर पहिलो लेगमा पराजित भएका कारण बायर्न अगाडि बढ्न सकेन ।
अब, इन्टरले फाइनल प्रवेशको लागि बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलको पहिलो लेग मे १ र दोस्रो लेग मे ८ मा खेलिने छ । फाइनल खेल जुन १ मा आयोजना हुाने छ ।