आईसीसी पुरुष यू-१९ विश्वकप एसिया छनोट खेल्ने नेपाली टोली घोषणा, खेल तालिका सार्वजनिक

चैत्र २६, २०८१ |खेल ब्युरो
आईसीसी पुरुष यू-१९ विश्वकप एसिया छनोट खेल्ने नेपाली टोली घोषणा, खेल तालिका सार्वजनिक

काठमाडौं । आईसीसी पुरुष अन्डर १९ विश्वकप एसिया छनोट खेल्ने नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज नरेन भट्टको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको हो । नेपालमै आयोजना हुने आईसीसी पुरुष अन्डर १९ विश्वकप एसिया छनोटको खेल तालिका समेत सार्वजनिक भएको छ ।

यसअघि १८ खेलाडीसहित नेपालले अफगानस्थिानसँगको अभ्यास सिरिजका सुरुवाती २ खेल खेलेको थियो । शक्ति गौचनको प्रशिक्षणमा रहेको टिममा कप्तान नरेनसहित अभिषेक तिवारी, नीरज यादव र साहिल पटेलले स्थान बनाएका छन् । 

यस्तै, अन्तिम १४ खेलाडीमा सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली र सन्तोष यादव छन् । अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री र विपिन शर्मालाई पनि अन्तिम टिममा समावेश गरिएको छ ।

यही चैत ३१ गतेदेखि वैशाख ७ गतेसम्म हुने प्रतियोगिताको पहिलो दिन नेपालले मूलपानीको तल्लो मैदानमा यूएईसँग खेल्नेछ भने माथिल्लो मैदानमा ओमान र अफगानिस्तान प्रतिस्पर्धा गर्नेछन् । 

नेपालले दोस्रो खेलमा वैशाख २ गते ओमानसँग खेल्नेछ । ४ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ भने लिग चरणको अन्तिम खेलमा वैशाख ७ गते अफगानिस्तानसँग खेल्नेछ । 

सिङ्गल राउन्ड रोबिनको शीर्ष स्थानमा रहने टोलीले जिम्बाब्बे र नामिबियामा आयोजना हुने अन्डर १९ विश्वकपमा स्थान बनाउनेछ । यसै प्रतियोगिताका लागि अफगानिस्तानसँग ३ खेलको अभ्यास सिरिज खेलेको नेपाल २-० ले पछि छ । सिरिज अन्तिम खेल भोलि हुनेछ ।