काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि ६ जना नायब महानिरीक्षक (डीआईजी) को नाम सिफारिस भएको छ । बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्रहरी नायब महानिरीक्षकहरू चन्द्रकुवेर खापुङ, लालमणि आचार्य , कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजक अधिकारी र मनोज केसीलाई अतिरिक्त महानिरीक्षक बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिस भएका मध्ये एक जनाले हालका महानिरीक्षक दीपक थापापछि प्रहरीको नेतृत्व गर्ने अवसर पाउने छन् । एआईजीमा बढुवा नहुँदा विभागहरू खाली थिए । अहिले सिफारिस भएका मध्ये महानिरीक्षक थापाकै ब्याजका चन्द्रकुवेर खापुङ र कृष्णहरि शर्मामध्ये एक जना महानिरीक्षक भए दुई महिना संगठनको नेतृत्व गर्ने छन् भने, त्यसपछिको ब्याचमा दानबहादुर कार्की, राजन अधिकारी र मनोज केसीमध्ये एक जना प्रहरी महानिरीक्षक हुने छन् ।
यसअघि भएको बढुवामा आफूले कसैलाई अन्याय नगर्ने महानिरीक्षक थापाले अडान लिएका थिए । भावी नेतृत्व समेत तयार पार्नु पर्ने भएकाले मर्यादाक्रम बाहिर जाँदा संगठनको चेन अफ कमान्ड नै बिग्रने भन्दै महानिरीक्षक थापाले सरकारलाई बुझाएका थिए ।
सिफारिस भएकाहरू एक सातामा मन्त्रिपरिषद् बैठकको निर्णयले एआईजीमा बढुवा हुने छन् ।