दाङ । लगातार दोस्रो खेल जित्दै रुपन्देही र दाङ लुम्बिनी प्रदेशस्तरीय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् ।
घोराही क्रिकेट रंगशालामा आज भएको खेलमा दाङले पाल्पालाई १६ रनले पराजित गरेको हो । टस जितेर पाल्पाले सुरुवातमा फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको दाङले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो । दाङका लागि तुलबहादुर थापाले ३० बलमा ५ छक्का र ३ चौकाको मद्दतमा अविजित ६३ रन बनाए । तुलबहादुरको प्रतियोगितामा यो दोस्रो अर्धशतक हो । मनोज पुनले ३० रन, शिशिर डिसीले २४ रन, बीरबहादुर घर्तीले ११ रन र किशन भारतीले ७ रन जोडे । पाल्पाका केशव पहरियाले २ विकेट हात पारे ।
जवाफमा पाल्पाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४६ रन मात्र बनाउन सक्यो । पाल्पाका लागि नरबहादुर सार्की र लीला शर्माले ८६ रनको साझेदारी गरे । लीलाले ४६ रन र नरबहादुरले ४५ रन बनाए । दाङका किशन भारतीले २ विकेट लिए ।
लमहीको देउखुरी क्रिकेट मैदानमा भएको अर्को खेलमा रुपन्देहीले बाँकेलाई १८ रनले पराजित गर्यो । कप्तान देव खनाल र अजय चौहानको कसिलो बलिङमा बाँकेलाई सस्तैमा आउट गर्दै रुपन्देहीले जित निकालेको छ । १ सय १६ रनको मध्यम लक्ष्य पछ्याएको बाँके १९ ओभर ३ बलमा मात्र ९७ रनमा अलआउट भयो ।