जितपुरसिमरा गोल्डकप : नव जनजागृति यूवा क्लब विजयी, सेमीफाइनलकाे यात्रा तय

चैत्र २४, २०८१ |खेल ब्युरो
जितपुरसिमरा गोल्डकप : नव जनजागृति यूवा क्लब विजयी, सेमीफाइनलकाे यात्रा तय

बारा । बाराको सिमरा रंगशालामा जारी १५ औं जितपुरसिमरा गोल्डकपको दोश्रो दिनको खेलमा आयोजक नव जनजागृति यूवा क्लब विजयी भएको छ । 

मोहित गुरूङको एकमात्र निर्णायक गोलको मद्दतमा आयोजक नव जनजागृति यूवा क्लब सिमराले जीतपुरसिमरा गोल्डकपको सेमी फाइनलयात्रा तय गरेको छ ।

हेटौंडाको टोली एन्फा मकवानपुरलाई अन्तिम समयमा स्तब्ध पार्ने क्रममा मोहितले खेलको ८५औं मिनटमा गोल गरेका थिए । कर्नर एरियाबाट मोहितले हानेको लङ रेन्जबलले सिधै जाली चुम्दा हेटौंडाका गोलरक्षक टोपबहादुर रानाले बचाउको कुनै अनुमान समेत गर्न सकेनन । 

पहिलो हाफमा मकवानपुरले आयोजक विरुद्ध शुरूवाती अग्रता बनाउने सुन्दर अवसर गुमाएको थियो । सामुएल सुनारले डिबक्स भित्रै बनाएको आकर्षक अवसरलाई गोलमा परिणत गर्न सकेनन् । 

उनको प्रहार फितलो बन्दा सिमराका गोल रक्षक युनेश चौधरीले बचाउ गरे । खेलको १६औं मिनटमा मकवानपुरले अर्को अवसर गुमाएको थियो । अनिश महर्जनको क्रसमा अभिषेक लामाको हेडर सिमराका डिफेण्डर सिशस थापाले गोल लाइनबाट क्लिएर गरेका थिए । 

खेलको १८औं मिनटमा आयोजक सिमराका प्रज्वल थापा मगरको उत्कृष्ट प्रहार मकवानपुरका गोलरक्षक टोपबहादुर राना मगरले बचाए । साइरब तामाङ्गको क्रसमा प्रज्वलले डिबक्स भित्रबाटै सशक्त प्रहार गरेका थिए । 

खेलको ८०औं मिनटमा आयोजक सिमराले आकर्षक अवसर गुमाएको थियो । समिन ढकालको पासमा अभिषेक महतोको प्रहार क्रसबारमा लागेर बाहीरियो । 

डिबक्सभित्र समिनले निकालेको सुन्दर पासमा अभिषेकले सशक्त प्रहार गरेका थिए । खेलको ग्रिनइनर्जी म्यान अफ दि म्याच आयोजक सिमराका मोहित गुरुङ घोषित भए । उनले नगद १० हजार र ट्रफी प्राप्त गरे । 

आज आइतबार साविक विजेता नेपाल पुलिस क्लब र मच्छिन्द्र फुटबल क्लबविच प्रतिस्पर्धा हुनेछ । ८ टिम सहभागिप्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाखप्राप्त गर्नेछन् ।