काठमाडौं । करिम बेन्जेमाले अतिरिक्त समयमा बराबरी गोल फर्काएपछि साउदी प्रो लिगको लिडर अल इत्तिहाद हारबाट जोगिएको छ ।
जेद्दामा गएराति सम्पन्न रोमाञ्चक खेलमा अल इत्तिहाद र अल अहलीले २-२ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा घरेलु टोली अल अहलीका डिफेन्डर रोजर इबानेजले हेडर मार्फत् गोल गरे । त्यसपछि अल इत्तिहादका मूसा डिआबीले गोल गर्दै खेललाई १-१ को बराबरी अवस्थामा फर्काए ।
८२ औं मिनेटमा इभान टोनीले गोल गरेपछि अल अहलीले पुन: खेलमा अग्रता लियो । तर इन्जुरी टाइमको अन्तिम क्षणमा करिम बेन्जेमाले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।
अब ८ खेल बाँकी रहँदा अल इत्तिहाद ६२ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । ४९ अंक सहित अल अहली चौथो स्थानमा छ ।