सडकभरि ढकमक्क फूल

चैत्र २५, २०८१ |अमृता अनमोल
सडकभरि ढकमक्क फूल

रूपन्देही । के तपाईंको घरआगनमा फूल फुलेका छन् ? रूपन्देहीको तिलोत्तमामा भने सडकभरि ढकमक्क फूल फूलेका छन् । आउनूस् आज तिलोत्तमाको सडक यात्रा गरौं ।

ढकमक्क फुलेका यी फूलहरू उत्तरदक्षिण सिद्धार्थ राजमार्ग अन्तर्गत रूपन्देहीको तिलोत्तमा क्षेत्रको सडकका हुन् । बुटवल भैरहवा सडकखण्डको तिलोत्तमा नगरपालिकामा पर्ने १३ किलोमिटर सडकमा यसैगरी राता, पहेँला, सेता तथा रंगीविरंगी फूल फुलेका छन् । फूलले सुन्दरता मात्र होइन सडक यात्रुलाई मनमोहित र यात्रालाई सुगन्धित समेत बनाएको छ ।

वसन्त ऋतुमा अरू वनस्पतिले नयाँ पात फेरेसँगै तिलोत्तमाको सडकका फूलहरू  फक्रिएर रंगीविरंगी भएर फुलेका हुन् । सडकको बीचमा राखिएका बुद्धमूर्ति र आसपासका फूलले सडक फूलबारी जस्तै देखिएको छ । धेरै हाँगाबिँगामा फैलाउने, हरेक हाँगामा फुल्ने, फुलेर धेरै समय नओइलाउने, आकर्षक र मनमोहक हुने भएकाले सडकभरि लगाएको बगमबेली फूललाई तिलोत्तमाले नगरफूल घोषणा गरेको छ ।

तिलोत्तमाले ६ लेन सडकखण्डको मुख्य डिभाइडर र सर्भिस लेनतर्फको डिभाइडरमा गरी २ हजार ५ सय फूल रोपेको छ । सडक किनार, सार्वजनिक क्षेत्र, सरकारी भवन, विद्यालय परिसर र १६ पार्कमा गरी करिब २ लाख ५० हजार फूलका बिरुवा रोपेको छ । अहिले यी फूलको स्याहार स्थानीय र नगरपालिका दुवैले गर्छन् ।

सडकभरि फूलेका यी फूलले तिलोत्तमा अहिले दुलही सिँगारिए जस्तै सिँगारिएको छ । सडकको सरसफाइ हरियाली सुन्दरता र यी फूलका आकर्षणले होला तिलोत्तमा अहिले विश्वका ४० वटा नगरहरूमध्ये सफा नगरमा परेको छ ।

सडक विस्तारले क्रंकिट बनेका अरू सडकमा पनि तिलोत्तमामा जस्तै फूल अभियान चलाउने कि ?


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।