काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपिएलमा राजस्थान रोयल्सले दोस्रो जित हात पारेको छ । गएराति सम्पन्न खेलमा राजस्थानले पञ्जाब किंग्सलाई ५० रनले हराएको हो । योसँगै पञ्जाबको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।
पञ्जाबले टस जितेर फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ५ रन जोडेको थियो । ओपनर यशस्वी जैसवाल र कप्तान सञ्जु सामसनले पहिलो विकेटका लागि ८९ रनको साझेदारी गर्दै राजस्थानलाई सानदार सुरुवात दिलाए ।
सञ्जुले ३८ रनको योगदान गरे भने यशस्वीले ४५ बलमा ३ चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ६७ रन बनाए । जारी सिजनमा आफ्नो पहिलो अर्धशतक प्रहार गरेका जैसवाल फर्गसनको बलमा बोल्ड भए ।
नितिश राना १२ र सिम्रन हेटमेर २० रनमा आउट भए । रियान परागले अविजित ४३ रनको इनिङ्स खेले । ध्रुव जुरेलले १३ रनको योगदान गरे । पञ्जाबका लागि लकी फर्गुसनले २ विकेट लिए । मार्को यानसन र अर्शदीप सिंहले समान एक-एक विकेट हात पारे ।
२ सय ६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो । खराब सुरुवात गरेको पञ्जाबले २६ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । ओपनर प्रियान्स आर्यालाई जोफ्रा आर्चरले गोल्डेन डक गरे ।
कप्तान श्रेयश अय्यर १० रनमा पवेलियन फर्किए । एक रन बनाएका मार्कस स्टोनिस सन्दीप शर्माको सिकार बने । प्रभसिमरन सिंह १७ रनमै आउट भए । नेहाल वादेरा र ग्लेन म्याक्सवेलले पाँचौँ विकेटको लागि ८८ रनको साझेदारी गरे । म्याक्सवेल ३० रनमा आउट भए । वादेराले सर्वाधिक ६२ रन बनाए पनि अन्य खेलाडीबाट थप साथ पााउन सकेनन् ।
राजस्थानका जोफ्रा आर्चरले सर्वाधिक तीन विकेट लिए । महिशा थिक्साना र सन्दीप शर्माको नाममा समान दुई-दुई विकेट रह्यो । पहिलो दुई खेलमा पराजित राजस्थानको यो लगातार दोस्रो जित हो ।
ऊ चार खेलमा ४ अंक जोड्दै तालिकाको सातौँ स्थानमा उक्लिएको छ । सुरुवाती २ खेल जितेको पञ्जाबका लागि यो पहिलो हार हो । पञ्जाब तीन खेलमा चार अंकसहित तालिकाको चौथो स्थानमा छ ।