काठमाडौं । स्पेनिस ला लिगामा भ्यालेन्सियासँग पराजित भएपछि रियाल मड्रिडको उपाधि दौडमा धक्का लागेको छ । गएराति सम्पन्न खेलमा रियाल भ्यालेन्सियासँग २-१ ले स्तब्ध भएको हो ।
भ्यालेन्सियाले सन् २००८ पछि पहिलो पटक सान्टियागो बर्नाबेउमा जित हासिल गर्यो । खेलको सुरुवातमै भिनिसियस जुनियरले पेनाल्टी मिस गरे । सेजर टारेगाले रियलका किलियन एम्बापेलाई डिबक्समा लडाएपछि रियालले पेनाल्टी पाएको थियो ।
तर भिनिसियसको प्रहार गोलकिपर जियोर्गी ममार्दाश्विलीले सजिलै जोगाए पछि घरेलु टोली अग्रता बनाउनबाट चुकेको थियो । भ्यालेन्सियाका लागि माउक्तार डियाखाबीले १५औं मिनेटमा डेडलक तोडे ।
उनले आन्द्रे आल्मेडाको क्रसलाई सदुपयोग गर्दा भ्यालेन्सियाले सुरुवाती अग्रता बनायो । ५०औं मिनेटमा भिनिसियसले रियालका लागी बराबरी गोल फर्काए । हृयुगो डुरोले इन्ज्युरी समयमो निर्णायक गोल गरेपछि रियाल घरेलु मैदानमै स्तब्ध भयो ।
तर अर्को खेलमा बार्सिलोनाले रियल बेटिससँग १-१ को बराबरी खेलेपछि भने रियाललाई सामान्य रहात मिलेको छ । रियालको ३० खेलमा ६३ अंक छ । शीर्ष स्थाननको बार्साले समान खेलमा ६७ अंक जोडेको छ । भ्यालेन्सिया ३४ अंकका साथ १५औं स्थानमा छ ।