इजरायलको आक्रमणबाट गाजामा ४३ जनाको मृत्यु

चैत्र २५, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
इजरायलको आक्रमणबाट गाजामा ४३ जनाको मृत्यु

काठमाडौं । इजरायली सेनाको पछिल्लो आक्रमणमा गाजामा ४३ जनाको मृत्यु भएको छ । युद्धविराम भंग भएपछि इजरायलले दिनहुँ भयानक आक्रमण गरिरहेको छ ।

इजरायली सेनाले मध्यगाजाको देइर अल-बलाहका पाँच वटा बस्ती खाली गर्न आदेश दिएको छ । यसअघि देइर अल-बलाहबाट क्षेप्यास्त्र आक्रमण भएको भन्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कडा प्रतिक्रिया दिने चेतावनी दिनुभएको थियो ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणमा अहिलेसम्म ५० हजार ६९५ जना प्यालेस्टिनीको मृत्यु भइसकेको छ । एक लाख १५ हजार ३३८ जना घाइते भएका छन् । यस्तै भग्नावशेषमुनि रहेका सहित मृतकको संख्या ६१ हजार नाघेको गाजाको सरकारी सञ्चार कार्यालयले जनाएको छ ।

यस्तै इजरायलको आक्रमणबाट दक्षिणी लेबनानमा दुई जना मारिएका छन् । प्यालेस्टाइनको वेस्ट बैंकमा एक जना प्यालेस्टिनी-अमेरिकी नागरिकको गोली प्रहार गरी हत्या भएको छ ।

यसैबीच, अमेरिकाले यमनमा हुथी विद्रोही लक्षित आक्रमण जारी राखेको छ । राजधानी सानाआमा भएको पछिल्लो आक्रमणमा चार जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।