काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ। सिद्धार्थनगर क्रिकेट मैदानमा हुने यो खेल बिहान नौ बजे सुरु हुनेछ।
प्रधानमन्त्री कपको फाइनलमा पुलिस र आर्मी आज तेस्रो पटक प्रतिस्पर्धा गरदैछन्। फाइनलमा आर्मी र पुलिस क्लबको प्रतिस्पर्धा रोमाञ्चक हुने अनुमान गरिएको छ। प्रधानमन्त्री कपको लिग चरणको शीर्ष र दोस्रो स्थानमा रहेर पुलिस र आर्मीले फाइनलमा स्थान बनाएका थिए।
गत बिहीबार भएको लिग चरणको अन्तिम खेलमा आर्मीले पुलिसलाई ४ विकेटले हराएको थियो। त्यसपछि दुवै टिमले समान १६ अंक बनाएर लिग चरण समाप्त गरेका थिए। हारका बाबजुद पुलिस लिग चरणमा राम्रो नेट रन रेटको आधारमा शीर्ष स्थानमा थियो।
आज पुलिस आर्मीसँग लिग चरणको हारको बदला लिने योजनामा हुनेछ। घरेलु क्रिकेटमा यी दुई टिम चीर प्रतिद्वन्दीसमेत हुन्। यसअघि भएका पाँच खेलमा पुलिस अघि छ। उसले तीन जित हात पारेको छ भने आर्मीले दुई खेल जितेको छ।
आज दुवै टोली आफ्नो क्लबलाई च्याम्पियन बनाउन चाहन्छन्। यसअघि भएका छ प्रतियोगितामध्ये पुलिस तीन पटक च्याम्पियन भएको छ भने आर्मीले दुई पटक पिएम कप जितेको छ।