बिमस्टेकमा व्यापार, क्षेत्रीय सुरक्षा र जलवायुका विषय प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई विज्ञको सुझाव

चैत्र १८, २०८१ |सुमन पन्थ
बिमस्टेकमा व्यापार, क्षेत्रीय सुरक्षा र जलवायुका विषय प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई विज्ञको सुझाव

काठमाडौं । थाइल्यान्डको बैंककमा बिहीबारबाट सुरु हुने बिमस्टेक राष्ट्रको शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली भोलि त्यसतर्फ जाँदै हुनुहुन्छ । प्रधानमन्त्रीको ओलीको थाइल्यान्ड भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ । सम्मेलनमा नेपालले वाणिज्य तथा व्यापार, सुरक्षा, जलवायु परिवर्तन लगायतका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार बिमस्टेक शिखर सम्मेलनमा मुख्यतः सात वटा विषयमा छलफल हुँदै छ । बिमस्टेक सदस्य राष्ट्रहरूबीच वाणिज्य तथा व्यापार, सुरक्षा, जलवायु परिवर्तनले पारेको असर, नागरिकको पारस्परिक सम्बन्ध लगायतका विषयमा मुख्य रूपमा छलफल हुनेछ । विज्ञहरूले व्यापार तथा ऊर्जा विकासलाई नेपालले प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिएका छन् । 

त्यसैगरी भूपरिवेष्ठित सदस्य राष्ट्रहरूका बीचमा यातायात तथा पारवहन, ऊर्जा र डिजिटल कनेक्टिभिटीलाई पनि प्राथमिकता दिनुपर्ने उनीहरूको सुझाव छ ।

नेपालको कुल वैदेशिक व्यापारमध्ये झन्डै ७५ प्रतिशत बिमस्टेक राष्ट्रहरूमै हुने गरेको छ । नेपालले वार्षिक १५ खर्बभन्दा बढीको वैदेशिक व्यापार घाटा बेहोरिरहेको छ । तर निर्यातमा सुधार हुन सकेको छैन । नेपाली उत्पादनको सहज निर्यातको व्यवस्था मिलाउनुपर्ने चुनौती छ । विद्यमान समस्या समाधान गर्ने साझा थलो बिमस्टेक भएकाले यो सम्मेलनलाई नेपालले अधिकतम उपयोग गर्नुपर्नेमा सरोकारवालाहरूको जोड छ ।

नेपालको निजी क्षेत्र र थाइल्यान्डका व्यवसायीहरू बीचमा विभिन्न सम्झौताको तयारी छ । खासगरी नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने विषयमा पनि छलफल हुने नेपाल उद्योग वाणिज्य महासंघले बताएको छ । त्यस्तै सांस्कृतिक आदान प्रदान र पर्यटनसँग सम्बन्धित विषयमा पनि सम्झौताको तयारी छ ।

बिमस्टेक सम्मेलनले सदस्य राष्ट्रहरूका साझा हितका लागि ठोस रणनीति बनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।