नेपाली क्रिकेट टिमको प्रशिक्षकमा अस्ट्रेलियाका स्टुवर्ट ल नियुक्त

चैत्र १६, २०८१ |खेल ब्युरो
नेपाली क्रिकेट टिमको प्रशिक्षकमा अस्ट्रेलियाका स्टुवर्ट ल नियुक्त

काठमाडौं । नेपाली क्रिकेट संघ क्यानले अस्ट्रेलियाका स्टुवर्ट ल लाई आगामी दुई वर्षको लागि नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। क्यानको भैरहवामा बसेको कार्यसमिति बैठकले स्टुवर्टलाई मूख्य प्रशिक्षकमा नियुक्त गरेको हो।

क्यानले आहृवान गरेको हेड कोचको आवेदनमा ७० जना प्रशिक्षकले इच्छा देखाएका थिए। नियुक्त भएका ५६ वर्षे प्रशिक्षक स्टुवर्टले टेस्ट राष्ट्रमा प्रशिक्षण गरिसकेको अनुभवसमेत छ। उनी सन् २०११ मा श्रीलंकाको सहायक प्रशिक्षक र त्यसपछि बंगलादेशको मूख्य प्रशिक्षक बने।

त्यसैगरी सन २०१८ मा वेस्ट इन्डिज र २०२२ मा अफगानिस्तान क्रिकेट टोलीको प्रशिक्षण गरेका थिए। त्यसपछि उनले बंगलादेश यू-१९ र अमेरिकाको मूख्य प्रशिक्षक बनेको टोलीको जिम्मेवारी सम्हालेका थिए। अब उनी दुई वर्ष नेपाली टोलीमा रहनेछन्।

अस्ट्रेलिया अन्तर्राष्ट्रिय खेलाडीले आफ्नो देशको लागि एकमात्रै टेस्ट श्रीलंकाविरुद्ध खेलेका थिए। उनले ५४ एक दिवसीय अन्तर्राष्ट्रिय खेलेका छन्। जसमा उनले एक हजार दुई सय ३७ रन बनाएका थिए। अष्ट्रेलियाको टिमबाट सन् १९९६ को आइसीसी क्रिकेट विश्वकपको उपविजेता टोलीमा समावेश थिए।

त्यसैगरी हिजोको क्यानको बैठकले आगामी मे महिनामा हुने आईसीसी महिला विश्वकपको एसिया छनोटका लागि भारतका मनिष झा कन्सल्ट्यान्ट कोच नियुक्त भएका छन्। क्यानले झालाई प्रतियोगिताको लागि नियुक्त गरेको हो।