विङसुट पाइलट सेबास्टियन आर्डिला आल्भारेजद्वारा‍ अभूतपूर्व कीर्तिमान कायम

चैत्र १५, २०८१ |खेल ब्युरो
विङसुट पाइलट सेबास्टियन आर्डिला आल्भारेजद्वारा‍ अभूतपूर्व कीर्तिमान कायम

काठमाडौं । चिलीका विङसुट पाइलट सेबास्टियन आर्डिला आल्भारेजले एरियल खेलमा अभूतपूर्व कीर्तिमान कायम गर्दै आफ्नै नाममा रहेको रेड बुल स्टारम्यान मिसनमा तीनवटा विश्व रेकर्ड तोडेका छन् ।

यससँगै उच्च जोखिमयुक्त विङसुट डाइभमा उनले मानव उडानको सीमालाई नयाँ उचाइमा पुर्याएका छन् । आल्भारेजले ४१ हजार ४ सय ७० फिटको उचाईबाट विमानमार्फत् हाम फालेका थिए । 

जुन अधिकांस व्यावसायिक विमानहरूको उडान उचाइभन्दा माथि थियो । उनले जेट स्ट्रिमको सहायता लिँदै आफ्नो शरीरलाई रणनीतिक रूपमा नियन्त्रणमा राखेका थिए ।

यसले उनलाई गति, दूरी र समय अधिकतम बनाउन मद्दत गरेको थियो । यो डाइभ उनले वेस्ट टेनेसी स्काइडाइभिङ सेन्टरमा गरेका थिए । जहाँ उनी ११ मिनेट १ सेकेन्डसम्म हावामा रहिरहेका थिए । यसअधिको कीर्तिमान पनि उनकै नाममा थियो । अघिल्लो पटक उनी ९ मिनेट ३१ सेकेन्ड हावामा रहेका थिए ।

५ सय ५० किलोमिटर प्रतिघण्टाको गतिमा स्काइ डाइभ गरेका उनले ३ सय ९७ किलोमिटर प्रतिघण्टाको कीर्तिमान समेत तोड्न सफल भए । यस बाहेक ५३ दशमलब ४५ किलोमिटरको दुरी तय गर्दै आल्भारेजले अर्को कीर्तिमान स्थापित गरे । यसअघि उनले २९ दशमलव सुन्य ६ किलोमिटरको दुरी निर्धारण गरेका थिए ।

कीर्तिमान बनाएपछि उनले यो उपलब्धिले अरूलाई पनि आफ्नो सीमा पार गर्ने प्रेरणा मिलोस् भन्ने आशा व्यक्त गरेका छन् ।