ओसासुनामाथि सहज जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

चैत्र १५, २०८१ |खेल ब्युरो
ओसासुनामाथि सहज जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं । बार्सिलोनाले घरेलु मैदानमा ओसासुनामाथि सहज ३-० को जित निकाल्दै ला लिगाको शीर्ष स्थानमा रहेको रियाल मड्रिडविरुद्ध तीन अंकको अग्रता बनाएको छ ।

राफिन्हा बिना मैदान उत्रिएको बार्साका रबर्ट लेवान्डोस्कीले बेञ्चबाट सुरुवात गरेका थिए । यो खेल क्लबका चिकित्सक कार्लेस मिनारो गार्सियाको निधनका कारण स्थगित गरिएको थियो र गएराति पुनः निर्धारित मितिमा खेलाइएको थियो ।

बार्सिलोनाले उत्कृष्ट प्रदर्शन जारी राख्दै सबै प्रतियोगितामा अपराजित १९ खेलको यात्रालाई निरन्तरता दिएको छ । बार्सा २०२५ मा युरोपका शीर्ष पाँच लिगमा पराजित नभएको एक मात्र टोली हो ।

११ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । त्यसको १० मिनेटपछि ओसासुनाका कप्तान सर्जियो हेरेराले फाउल गरेपछि डानी ओल्मोले पेनाल्टीमार्फत् दोस्रो गोल गरे । 

ओल्मो केहीबेरमै चोटका कारण मैदानबाट बाहिरिए । तर बार्सिलोनाले खेलमाथि पूर्ण नियन्त्रण भने कायमै राख्यो । पहिलो हाफ सकिनु केहीअघि टोरेसले फ्रिकिकमार्फत बल क्रसबारमा हानेका थिए ।

तेस्रो गोल भने लेवान्डोस्की मैदान प्रवेश गरेपछि सम्भव भयो । विकल्पका रूपमा मैदान प्रवेश गरका लेवान्डोस्कीले अर्का सब्सिटच्युट फर्मिन लोपेजको क्रसमा हेडरमार्फत गोल गरेका थिए । 

नितसँगै बार्सिलोनाले २८ खेलमा २० जित सहित ६३ अंक जोडेको छ । उ लिगको शीर्ष स्थानमा छ । समान खेलमा ६० अंकसहित रियाल दोस्रो स्थानमा छ । ३३ अंक जोडेको ओसासुना १४ औं स्थानमा छ ।