होराईजन राष्ट्रिय बास्केटबल रनिङ कपको फाइनल खेल आज

चैत्र १२, २०८१ |खेल ब्युरो
होराईजन राष्ट्रिय बास्केटबल रनिङ कपको फाइनल खेल आज

काठमाडौं । नवौं संस्करणको होराईजन राष्ट्रिय बास्केटबल रनिङ कपको फाइनल खेल आज हुँदैछ। उपाधिका लागि विभागीय टिम त्रिभुवन आर्मी र धरान बास्केटबल टिम भिड्ने भएका छन् । 

हिजो भएको लिग चरणको अन्तिम खेलमा समूह बिजेता बन्दै आर्मी र धरानले उपाधि भिडन्त पक्का गरेका हुन् । धरानस्थित श्रीमाबिको कोर्टमा सोमबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा दुई पटकको च्याम्पियन आर्मीले काठमाडौको बिशाल मिलन केन्द्रलाई ७६ का बिरुद्ध ८९ स्कोरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

पहिलो क्वार्टरमा २५-१३ स्कोरले पछि परेको आर्मीले दोस्रो क्वार्टरमा २६-१७ को अग्रता कायम गर्यो । तेस्रो क्वार्टरमा २६-२० र चौथो क्वार्टरमा २४-१४ स्कोर गर्दै आर्मीले पुनरागमन गरेको हो। 

समूह ए बाट लिग चरणको दुवै खेलमा शतप्रतिशत जित निकालेको आर्मीलाई फाइनल पुर्याउन कुल २६ स्कोर जोडेका रामकृष्ण घतानी म्यान अफ द म्याच घोषित भए।

सोमबार नै भएको दोस्रो खेलमा समूह बीको धरानले बिराटनगर बास्केटबल एकेडेमीमाथि ५८ का विरुद्ध ७४ स्कोरको जीत निकाल्दै आर्मीसंगको उपाधि भिडन्त पक्का गरेको हो । 

पहिलो क्वार्टरमा २०-८ स्कोरको अग्रता लिएको धरानले दोस्रो क्वाटरमा १५-१४ को झिनो अग्रता लिए पनि तेस्रो क्वार्टरमा २१-१८ र अन्तिम क्वार्टरमा १८-१८ को बराबरी स्कोर जोडे पनि कुल ५८ का बिरुद्ध ७४ स्कोरको जीत निकाल्न सफल भएको थियो ।