नेपालमा आन्तरिक बसाइँसराईको दर तीब्र, मूलथलो छोडी बसाईं सर्ने २९ प्रतिशत

चैत्र १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपालमा आन्तरिक बसाइँसराईको दर तीब्र, मूलथलो छोडी बसाईं सर्ने २९ प्रतिशत

काठमाडौं । नेपालमा आन्तरिक बसाइँसराईको दर तीब्र रहेको तथ्यांक सार्वजनिक भएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार आन्तरिक रुपमा आफ्नो मूलथलो छोडी बसाईं सर्नेको अनुपात २९ दशमलब २ प्रतिशत रहेको देखिएको हो ।

यसरी बसाइँसराई सर्ने क्रम नरोकिए पुख्र्यौली थाँतथलोमा सहाराविहीन ज्येष्ठ नागरिकको मात्रै बसोवास रहने देखिएको हो । राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार सबैभन्दा बढी पहाडमा बसाइँसराइ भएको छ ।

विगत १० वर्षको अवधिमा ३२ प्रतिशत नागरिक पहाडबाट बसाइँ सरेका छन् भने तराईबाट २८ दशमलब ९ प्रतिशत नागरिक बसाईं सरी अन्यत्र गएका छन् । हिमाली क्षेत्रबाट १३ दशमलब ८ प्रतिशत नागरिक बसाइँ सरेको प्रवक्ता लामिछानेले बताउनुभयो ।

बसाइँ सरेकामध्ये २५ दशमलब ९ प्रतिशत आश्रित भएर गएका, २४ दशमलब ९ प्रतिशत वैवाहिक कारण बसाईं सरेका तथा १९ प्रतिशत नागरिक कामको अवसरका कारण बसाईं सरी गएको देखिन्छ । अन्यत्रको तुलनामा तराई क्षेत्रमा जनसंख्या वृद्धिदर उच्च रहेको कार्यालयको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.