इन्डियन प्रिमियर लिग : दिल्ली क्यापिटल्सद्वारा लखनउ सुपर जायन्ट्स पराजित

चैत्र १२, २०८१ |खेल ब्युरो
इन्डियन प्रिमियर लिग : दिल्ली क्यापिटल्सद्वारा लखनउ सुपर जायन्ट्स पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपिएलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई एक विकेटले हराएको छ । विसाखापटनममा लखनउ सुपर जायन्टले दिएको दुई सय १० रनको लक्ष्य दिल्लीले नौ विकेट गुमाएर १९ दशमलव तीन ओभरमा पूरा गर्‍यो ।

टस हारेर ब्याटिङमा उत्रिएको लखनउका ओपनर एडन मारक्रमले १५ रनको योगदान गरे । उनलाई विपराज निगमले क्याचआउट गराए । मिचेल मार्स र निकोलस पुरनले ८७ रनको साझेदारी गरे । 

मिचेलले ३६ बलमा ७२ रन जोडे भने पुरनले ३० बलमा ७५ रनको महत्वपूर्ण योगदान गरे । डेविड मिलरले अविजत २७ रन जोडे । अन्य ब्याटरले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन् । बलिङमा दिल्लीका मिचेल स्टार्कले तीन विकेट लिए । तर उनी किफायती भने देखिएनन् । कुलदीप यादवले दुई विकेट आफ्नो नाममा गरे ।

जवाफमा दिल्लीले कमजोर सुरूवात गरेको थियो । ओपनर ज्याक फ्रेजर एक, अभिषेक पोरेल शून्य र समिर रिज्वी चार रनमा आउट भए । सात रनमै तीन विकेट गुमाएको दिल्लीलाई त्यसपछिका ब्याटरले सम्हाले । 

फाफ डु प्लेसिसले २९ र अक्षर पटेलले २२ रनको योगदान गरे । ट्रिस्टन स्टब्सले ३४ रन बनाए । ३१ बलमा आशुतोष शर्माले अविजित ६६ रन जोडेपछि दिल्ली लक्ष्यमा पुगेको हो । उनलाई विपराज निगमले ३९ रन बनाएर साथ दिएका थिए । 

लखनउका लागि शर्दुल ठाकुर, मनिमरन सिद्धार्थ, दिग्वेस राठी र रवी विश्नोइले समान २-२ विकेट लिए पनि दिल्लीलाई रोक्न सकेनन् । आईपिएलमा आज गुजरात जाइटन्सले घरेलु मैदानमा पञ्जाव किंग्सको सामना गर्नेछ ।