काठमाडौं । पाँचौं मेचीनगर गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरविरुद्ध १-० को जित हात पार्दै चर्च ब्वाइज च्याम्पियन बनेको हो ।
यसअघि झापा, फाल्गुनन्द र बागमती गोल्डकपको उपाधि जितेको चर्च ब्वाइजका लागि यो सिजनको चौथो उपाधि हो । ए डिभिजन लिग चर्च ब्वाइजले मेचीनगर गोल्डकप भने पहिलो पटक जितेको हो ।
काँकडभिट्टा माविको मैदानमा चर्च ब्वाइजलाई च्याम्पियन बनाउन समीर तामाङले निर्णायक गोल गरे । समीरले खेलको ११ औं मिनेटमा गोल गरेका थिए । उनले हेमन्त लिम्बूको ब्याक पासलाई नियन्त्रणमा लिँदै शानदार गोल गरेका थिए । त्यसपछि दुवै टिमबाट थप गोल हुन नसकेपछि चर्च ब्वाइज च्याम्पियन बन्यो ।
प्रतियोगिताको विजेता चर्च ब्वाइजले १० लाख रुपैयाँ नगद प्राप्त गर्यो । उपविजेता काँकडभिट्टाले ५ लाख रुपैयाँमा चित्त बुझायो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी काँकडभिट्टाका खमिर गिल्सन घोषित भए । उनले नगद ५१ हजार प्राप्त गरे ।
काकरभिट्टाका दिवश उराऊ उकृष्ट डिफेन्डर बने । उत्कृष्ट गोलकिपर चर्च ब्वाइजका टेकेन्द्र थापा घोषित भए । उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजकै सुमन श्रेष्ठ बने । विधागत उत्कृष्ट सबै जनाले जनही नगद २१ हजार रुपैयाँ हात पारे । इमर्जिङ खेलाडीको उपाधि काँकडभिट्टाका पर्शु राईले जिते । उनले १५ हजार रुपैयाँ प्राप्त गरे ।